06 सितंबर, 2020

नेपाली भाषाको विकास यात्रा









नेपाली भाषाको विकास यात्रा





 


डा.गोमा देवी शर्मा

मणिपुर

नेपाली भाषा भारतीय आर्यभाषा परिवारको भाषा हो। यो नेपाल राष्ट्रको सम्पर्क भाषा र राष्ट्रभाषा, भारतीय राज्य सिक्किमको राजभाषा, पश्चिम बङ्गाल राज्यमा सह-राजभाषाको रूपमा स्वीकृत छ। पूर्वोत्तर भारतका आठैवटा राज्य र उत्तराखण्डमा साथै अन्य राज्यहरूमा नेपाली भाषा बोलिन्छ। भुटान, म्यानमार र विश्वका अनेक देशहरूमा पनि यो भाषा प्रयोगमा ल्याइन्छ। 

नेपाली भाषाको उद्भवको सम्बन्धमा विविध मत भए तापनि यसको भाषिक स्वरूपको आधारमा यो भन्न सकिन्छ कि अन्य आधुनिक आर्य भाषा सरह नेपाली पनि संस्कृत भाषाको एउटा सन्तान हो। भारोपीय परिवारको एउटा सदस्य र यस वर्गको सप्तम वर्गको अन्तर्गत आर्यइरानी शाखाबाट संस्कृत, पाली तथा अपभ्रंशको रूपमा विकसित भएको एउटा आधुनिक आर्यभाषा हो।

प्रारम्भदेखि लिएर वर्तमानसम्मको दीर्घ यात्रावधिमा नेपाली भाषाले अनेक नाउँहरू प्राप्त गरिसकेको छ। जस्तै -  खस कुरा वा खस भाषा, सिञ्जाली भाषा, गोर्खा भाषा वा गोर्खाली भाषा, पर्वते भाषा र नेपाली भाषा।

यस भाषाले नेपाली भाषाको नाउँ पाउनुका पछाड़ि एउटा लामो पृष्ठभूमि छ। नेपाल देशमा जन्मिएको यस भाषाको नेपाली नामाकरणमा भारतको विशेष भूमिका रहेको छ।

जब नेपालमा गोर्खा राजाहरूद्वारा राज्य विस्तारको कार्य तीव्र गतिमा भइरहेको थियो, त्यस बेला भारतमा ईस्ट इण्डिया कम्पनी स्थापित भइसकेको थियो। गोर्खाहरूको बढ्दै गएको शौर्यलाई देखेर अङ्ग्रेजहरूको मनमा ढ्याङ्ग्रो बज्न लाग्यो। उनीहरूका अघि बढ्दै गरेका पाइलालाई रोक्नका लागि साम्राज्यवादीहरूले सीमा विवाद शुरू गरे। फलस्वरूप सन् 1814 मा नेपालले अङ्ग्रेजसँग युद्ध गर्नु पऱ्यो। यस युद्धमा आधुनिक हतियारले सम्पन्न अङ्ग्रेजसँग नेपालले हार्नु पऱ्यो र सुगौली सन्धि (1915) मा नेपालले आफ्नो वृहद् भू-भाग अङ्ग्रेजशासित भारतलाई सुम्पिनु पऱ्यो। वर्तमानमा यी स्थलहरू हुन् - शिमला, मसूरी, नैनीताल, अल्मोड़ा, रानीखेत, देहरादून, सिक्किम, दार्जीलिङ्, जलपाइगढ़ी, कूचबिहारका केही भाग र उत्तर प्रदेशको चम्बा जिल्ला।

यसरी यी क्षेत्रमा बसोबासो गर्ने नेपाली जनता भारतमा माटोसँगै विलीन हुन पुगे। गोर्खा रेजिमेन्ट, सिक्ख रेजिमेन्ट आदिको माध्यमबाट पनि नेपालीहरूले भारतको नागरिकता प्राप्त गरे। प्राचीन कालमा भारत एवं नेपालका राजाहरूको बीचमा भएको वैवाहिक सम्बन्ध, धर्म अन्तर्गत काशीवास आदिले पनि केही मात्रमा गोर्खाली/नेपालीहरू भारतीय नागरिक बन्न पुगे। भारतमा विलय भए तापनि गोर्खाहरूले निजको भाषा-संस्कृति र साहित्य सिर्जनाको कार्य पनि जारी राखे।

नेपालमा लामो अवधिसम्म राणाहरूको निरंकुश शासन कायम रह्यो, जसमा अभिव्यक्तिको स्वतन्त्रता थिएन। यसै कारण धेरै नेपाली रचनाकारहरूले भारततर्फ पलायन गरे र बनारसलाई आफ्नो कर्मक्षेत्र बनाए। यसरी बनारस हिन्दी साहित्यको साथै नेपाली साहित्य सिर्जनाको केन्द्र बन्न पुग्यो। बनारस सँगसँगै दार्जिलिङ, सिक्किम र पूर्वोत्तर भारतका राज्यहरूमा पनि साहित्यिक गतिविधि प्रारम्भ भए। बनारसबाट मोतीराम भट्टको सम्पादनमा पहिलो पटक गोर्खा भारत जीवन (1887) पत्रिका प्रकाशित भयो। यसपछि 1901 मा दार्जिलिङबाट पादरी गंगाप्रसाद प्रधानको सम्पादनमा गोर्खे खबर कागत, काठमाण्डौंबाट गोरखापत्र (1901) आदि पत्रपत्रिकाहरू क्रमशः प्रकाशित हुन थाले।

भारतीय नेपाली साहित्यमा नव जागरणका प्रर्वतक मानिने पारसमणि प्रधानले सन् 1918 देखि चन्द्रिका पत्रिकाको माध्यमबाट नेपाली भाषासाहित्यको सेवा प्रारम्भ गरे। उनको नेतृत्वमा नेपाली भाषाको परिष्कार, लेखनमा एकरूपता एवं ठेठ नेपाली शब्द प्रयोगको आग्रह गर्दै लामो समयसम्म आन्दोलन चल्यो। सन् 1921 मा पारसमणि प्रधानको प्रयासमा कलकत्ता विश्वविद्यालयद्वारा यस भाषालाई मान्यता दिँदा नेपाली नाउँ स्वीकार गरियो। यसभन्दा पहिला सन् 1819 मा प्रा. जे. ए. एटनले आफ्नो अ ग्रामर आफ दी नेपाली लैंग्वैज नामक पुस्तकमा नेपाली शब्दको प्रयोग गरिसकेका थिए।

सन् 1924मा दार्जिलिङमा नेपाली साहित्य सम्मेलनको स्थापना भएपश्चात यस नाउँले व्यापकता प्राप्त गर्यो। भारतमा नेपाली नाउँको प्रचलन भएको धेरै समय पछाड़िसम्म पनि नेपालमा गोर्खा भाषा नाउँ नै प्रचलित भइरह्यो। महानन्द पौड्यालका अनुसार - सन् 1934 तिर नेपाल सरकारले गोर्खा शब्दको ठाउँमा नेपाली शब्द प्रयोग गर्ने स्वीकृति दियो। 

-( विचरण आफ्नै क्षितिभित्र, पृ.82)

यसरी बीसौं शताब्दीको प्रारम्भमा आएर गोर्खा भाषा वा गोर्खाली भाषाले नेपाली भाषाको नाउँ प्राप्त गऱ्यो। यसको विकासयात्रालाई निम्न तीन चरणहरूमा विभाजित गरेर अध्ययन गर्न सकिन्छ-

प्रारम्भिक चरण  (सन् 981 देखि सन् 1400 सम्म)

नेपाली भाषाको उद्भव काललाई शिलालेखकाल या ताम्रपत्रकाल पनि भन्न सकिन्छ। यस कालमा नेपाली भाषाको लिखित नमुना मात्र शिलालेख, ताम्रपत्र तथा कनकपत्रमा प्राप्त छ। विभिन्न राजाहरूले खन्न अथवा बनाउन लगाएका ताम्रपत्र, कनकपत्र, शिलालेख आदिमा वर्तमान नेपाली भाषाको नमुना पाएकोले विद्वानहरूले त्यसैलाई प्राचीन नेपाली भाषाको रूपमा ग्रहण गरेका हुन्।

यस्ता शिलालेखहरूमा सन् 981 मा राजा दामुपालले उत्कीर्ण गराएको दुल्लु, नेपालको शिलालेख प्राचीन नेपाली भाषाको पहिलो नमुनाको रूपमा देखा परेको छ। यस्ता शिलालेखहरूको अझै अनुसन्धान हुन बाँकी नै छ। यी नमुनाहरूको आधारमा तत्कालीन नेपालमा साधारण जनताले पनि यसै भाषालाई प्रयोग गर्दथे भन्ने कुरालाई प्रमाणित गर्न सकिंँदैन। यी शिलालेख एवं ताम्रपत्र राजाहरूद्वारा उत्कीर्ण गराइएका थिए, त्यसैले यसमा कुनै सन्देह छैन कि त्यस कालमा दरबारी वा प्रशासनिक भाषाको रूपमा नेपाली भाषा व्यवहार गरिन्थ्यो।

खस राजाहरूको शासनकाल यस भाषाको प्रथम प्रसारकाल थियो। नेपालमा खस साम्राज्य स्थापित हुनका साथै भाषाको प्रचार-प्रसारको कार्य पनि हुन थाल्यो। राजदरबारमा संस्कृत भाषाका विद्वानहरूलाई प्रश्रय दिइन्थ्यो। विद्वानहरूको भनाइ अनुसार यी राजाहरूले आफ्नो कीर्ति राख्नका निम्ति शिलालेखहरू उत्कीर्ण गराएका हुन्। समयको साथसाथै ताम्रपत्र एवं कनकपत्रहरूको प्रचलन पनि प्रारम्भ भयो।

नेपाली भाषाको उद्गमस्थलको सम्बन्धमा चुड़ामणि उपाध्यायको मत छ - यसको मूल स्थल कर्णाली अञ्चल भए पनि यो पूर्वी पहाड़ी क्षेत्रहरूमा पनि फैलिन थालेको थियो। नेपाली भाषाको प्रथम नमुना पश्चिम नेपालको दुल्लू नामक स्थानमा प्राप्त शिलालेखमा पाइन्छ। यसलाई त्यस स्थानका राजा दामुपालले सन् 981 मा उत्कीर्ण गराएका थिए। ( नेपाली भाषाको उत्पत्ति, पृ.47)

यस कुराले ईसाको दसौं शताब्दीसम्म नेपाली भाषा जन-व्यवहारको भाषाको रूपमा खस प्रदेशहरूमा स्थापित भईसकेको थियो भन्ने कुरा जनाउँछ। अध्येताहरूको जानकारी अनुसार आधुनिक आर्य भाषाहरूको समय पनि लगभग 1000 ई.देखि प्रारम्भ हुन्छ।

दुल्लूको शिलालेख सँगसँगै धेरै अरू ताम्रपत्र एवं कनकपत्र पनि प्राप्त भएका छन्, जसमध्ये राजा आदित्य मल्लको ताम्रपत्र (1321 ई.), पुण्यमल्लद्वारा जारी ताम्रपत्र (1328, 1336, 1337 ई.), पृथ्वीमल्लको अभिलेख (1356 ई), एवं ताम्रपत्र (1358 ई.), अभयमल्लको ताम्रपत्र (1346ई.), कल्याण नरेश बालीराजको अभिलेख (1398 ई.), राजा मलयबमद्वारा जारी ताम्रपत्र (1389 ई.) प्रमुख हुन्।

नेपाली भाषाको विकासयात्राको प्रारम्भिक चरणलाई छर्लंग्याउने विस्तृत इतिहासको अभाव छ। मात्रै शिलालेख, ताम्रपत्र, कनकपत्र, अभिलेखको आधारमा तत्कालीन सामाजिक, राजनैतिक व्यवस्थाको सम्पूर्ण जानकारी प्राप्त हुन सक्दैन, यसैले यस कालका राजाहरूको विषयमा पनि विस्तृत जानकारी पाउन गाह्रो पर्दछ। विद्वान्हरूको भनाइ छ कि यिनीहरूलाई उत्कीर्ण गराउनको पछि राजाहरूको उद्देश्य महत्वपूर्ण घोषणाहरूलाई जारी गर्नु र कीर्ति स्थापना गर्नु थियो।

आजसम्म प्राप्त भएका शिलालेख, ताम्रपत्र, कनकपत्र आदिमा प्राप्त नेपाली भाषाका केही नमुनाहरू उदाहरणार्थ प्रस्तुत गरिएको छ -

1. पश्चिम नेपाल अन्तर्गत दुल्लूका राजा दामुपालद्वारा सन् 981मा उत्कीर्ण अभिलेख आजसम्म प्राप्त नमुनाहरूमा सबैभन्दा प्राचीन हो। शिलाको माथिल्लो भाग खण्डित हुनाले त्यसमा अंकित अक्षर पनि खण्डित छन्। डा. घनश्याम नेपालका अनुसार शेष भागमा उत्कीर्ण लेखाइ यस प्रकार छ -

........... दमे

हुँ ........... दा

मु पाल भूपाल

रे श भई। किणु अ

डैको भाइ। सउँ

पल अडै सा। 909

 - नेपाली साहित्यको परिचयात्मक इतिहास, पृ.30

   (भावार्थ - राजा दामुपालले कृष्ण र सोमपाल दरबारीहरूलाई जग्गा बाँडिदिए)।

 

2. सिंजाका दानी राजा अभय मल्लद्वारा दानपत्र स्वरूप सन् 1280 मा जारी गरिएको ताम्रपत्र पुरातत्ववेत्ताहरूले सर्वप्रथम नेपालको दैलेख जिल्ला अन्तर्गत जम्बुकाध भग्नावशेषको भूमि उत्खनन गर्दा फेला पारेका थिए। यसमा प्राप्त नेपाली भाषाको स्वरूप यस प्रकार छ -

जयराज प्रसाद करायो

सूत्रधार नागदेव नाउँ कमायो।

(- डिल्लीराम तिम्सिना - वाणी साधना, पृ.72)

   (भावार्थ - जयराज प्रसादले कार्य गराए र यस कार्यमा नागदेव नामक मूर्तिकारले नाउँ कमाए।)

3. नेपालको भेरी अञ्चलमा पर्ने दैलेख जिल्ला अन्र्तगत दुल्लू स्थित ज्वालामुखी मन्दिरको उत्तरवर्ती नदीका छेउमा स्थित पहाडमा प्राप्त भएको महाराजा अशोकचल्लको शासनकाल, सन् 1250 देखि 1260को छेउछाउमा निर्मित अभिलेखको नमुना -

 सअना कार्कि साउका कक्र्यानीको देवल....।

(- डा.दयाराम श्रेष्ठ, प्रा. मोहनराज शर्मा - नेपाली साहित्यको संक्षिप्त इतिहास, पृ.7)

   (भावार्थ - सौना कार्की र सौका कर्कीनीको मन्दिर)।

 

4. सेंजाका राजा आदित्यमल्लको शासनकालमा सन् 1321 मा अङ्कित अभिलेखको नमुना -

 स्वस्ती

स्वस्ती

श्री शाके 1243 श्री श्री आदित्यमल्ल देव

सपरिवार चिरंजयतु

राइका भारती पासाकरि अक्रि

भासगावा लामा सपरिवार

हाम्रायी शत्रु नास हो

हामि दानपति हो ......।

(- बालकृष्ण पोखरेल - पाँच सय वर्ष, पृ. 21)

   (भावार्थ - शकाब्द 1243 श्री श्री आदित्यमल्ल देव सपरिवार चिरञ्जिवी होउन। यस पुण्य तिथिमा राजाले भासगावा निवासी लामा परिवारलाई यो प्रदान गरे। हामी कामना गर्छौं कि हाम्रा शत्रु नाश हउन र हामी दानपति कहलाउँ।)

 

भाषिक संरचनाको वैशिष्ट्य

उपरोक्त शिलालेख, ताम्रपत्र आदिमा उत्कीर्ण भाषिक रूपबाट यो कुरा थाह लाग्छ कि दसौं शताब्दीसम्म नेपाली भाषाको मूल स्वरूप प्रायः निर्मित भइसकेको थियो र यो व्यापक रूपमा जनव्यवहारमा आइसकेको थियो। खस राजाहरूको उदय सँगसँगै यसलाई प्रशासनिक भाषा हुने गोैरव प्राप्त भइसकेको थियो। यसैले यसको व्यापक प्रचार-प्रसार भयो। प्रारम्भिक कालीन नेपालीका विशेषताहरू निम्नांकित छन्।

सामान्य विशेषताहरू:

अपभ्रंशको पछाड़ि निकै परिवर्तनहरूको सामना गर्दै आएको नेपाली भाषाका यस प्रारम्भिक स्तरमा विशेषताहरू यस प्रकार छन् -

क. दसौं शताब्दीसम्म नेपाली भाषाको मूल स्वरूप निर्मित भइसकेको थियो।

ख. प्रारम्भिक कालीन नेपाली भाषा राजाहरूको आश्रयमा हुक्र्यो अनि बढ्यो।

ग. यस कालमा नेपाली भाषा शिलालेेख, ताम्रपत्र र कनकपत्रमा मात्रै सीमित रह्यो।

घ. नेपाली भाषाको स्वरूप निर्माण र विकासको मुख्य कार्य खस राजाहरूले गरे।

ङ. राजाहरूले आफ्नो कीर्ति कायम राख्ने र महत्वपूर्ण घोषणाहरूलाई दस्तावेजको रूपमा सुरक्षित राख्ने उद्देश्यले शिलालेख एवं ताम्रपत्रहरू उत्कीर्ण गराएका थिए।

 

भाषा वैज्ञानिक विशेषताहरू:

नेपाली भाषाका प्रथम चरणमा भाषाको स्वरूप जान्नका लागि तल दिइएका विशेषताहरूलाई लिन सकिन्छ -

क. प्राचीन नेपाली भाषाको स्वरूप निर्माणमा भारतीय आर्य भाषाहरूको पनि प्रभाव देखिन्छ। खसहरूको आगमनसँगै उनीहरूले प्रयोग गरिने भाषाहरूको प्रभाव नेपाली भाषामाथि पर्नु स्वाभाविक थियो।

ख. दरबारमा प्रमुख रूपमा संस्कृत भाषाको प्रचलन थियो।

ग. शब्दभण्डारमा तत्सम, तद्भव तथा देेशज शब्दहरूको प्रयोग देखिन्छ।

घ. अपभ्रंशमा जस्तै प्राचीन नेपाली भाषामा तल दिइएका ध्वनिहरूको प्रयोग देखिन्छ -

                ह्रस्व-दीर्घ   - अ आ ई उ उ ए 

                ह्रस्व-दीर्घ स्वर - ओ 

                व्य´जन ध्वनि - क ख ग घ ङ,   च छ ज झ ´,   

                                         ट ड ढ ण,    त थ द ध न,  

                                                   प फ ब भ म,    य र ल व,   

                                                   श ष स ह।

ङ. शब्द भेदहरूमा संज्ञा, सर्वनाम, क्रिया, विशेषण, सम्बन्ध बोधक, समुच्चय बोधक आदिको प्रयोग देखिन्छ।

च. प्राचीन नेपालीमा लिंग भेद देखिँदैन। सबै सहायक क्रियाहरू स्त्रीलिङ्गमा प्रयोग गरिएको पाइन्छ। जस्तै करि, भई आदि।

छ. प्राचीन नेपालीमा वचनको प्रयोग पनि देखिन्छ। एकवचन, बहुवचन दुवैको प्रयोग अभिव्यक्तिहरूमा भएको पाइन्छ।

ज. प्रारम्भिक नेपालीमा विभक्तिहरूको प्रयोग अत्यन्त न्यून मात्रामा भएको पाइन्छ। सम्बन्ध कारकको चिह्न रा’, ‘काको प्रयोग कतै-कतै देखिन्छ। यी चिह्नको प्रयोग मात्र मनुष्य स्तरसम्मका लागि भएको पाइन्छ।

झ. वाक्यमा विधानवाचक, इच्छावाचक, आज्ञावाचक आदिको प्रयोेग भएको देखिन्छ। शब्दक्रममा कर्ता, कर्म र क्रियाको अन्विति भएको पाइन्छ।

मध्यकालीन चरण (सन् 1401 देखि 1900 सम्म)

नेपाली भाषाको विकासको मध्यकालीन चरण राजनैतिक अस्थिरताको चरण थियो। राजनैतिक दृष्टिले यो विशाल सेन्जा राज्यको विघटन र गोर्खा राजाहरूको उदयको समय थियो। यी राजाहरूद्वारा 46 राज्यमा विघटित नेपालको एकीकरण, सीमा विस्तार, अङ्ग्रेज-नेपाल युद्ध (सन् 1814-15), सुगौली सन्धि (सन् 1815) अन्तर्गत व्यापक मात्रामा नेपाली जातिको भारत आगमन, भारतमा नेपाली साहित्यिक गतिविधि आदि घटनाहरू नेपाली भाषाको विकासको यस चरणमा देखिन्छन्।

यस कालमा नेपाली भाषा भारतीय भाषाहरूको सम्पर्कमा आउनाले संक्रमणको स्थितिमा परेको देखिन्छ। चुडामणि उपाध्यायको मतानुसार - सोह्रौं शताब्दीसम्म पनि भारतका छिमेकी राज्यहरूबाट पहाडी क्षेत्रमा उक्लने र पश्चिमबाट पूर्वतिर बसाइँ सर्ने क्रम छुटेको थिएन। मुसलमानहरूको आक्रमणबाट बच्न कुमाउँ पनि सुरक्षित ठाउँ रहेन। त्यस कारण कन्नौजका ब्राह्मणहरू राजस्थानका राजपूतहरू र कुमाउँ तथा गढवालका खस बाहुनहरू पनि नेपाल पस्न थाले।

(- नेपाली भाषाको उत्पत्ति, पृ.48)

यसरी भारतदेखि नेपालतर्फ व्यापक मात्रामा पलायन गर्ने मानिसहरूको भाषाको प्रभाव बिस्तारै-बिस्तारै तत्कालीन नेपाली भाषामाथि पर्न थाल्यो। यसले गर्दा आफ्नो विकासयात्राको दोस्रो चरणमा नेपाली भाषा भारतीय भाषाहरूको सम्पर्कमा आयो। यस चरणमा नेपाली भाषाको बिस्तार भारतमा पनि भयो। गोर्खा राजाहरूद्वारा नेपाल एकीकरण गर्ने अभियानमा कतिपय भारतीय प्रान्तहरू विशाल गोर्खा राज्यका हिस्सा बन्न पुगे। यसरी नेपाली भाषाको विस्तार बृहत् क्षेत्रमा व्यापक रूपमा भएको देखिन्छ। यसका साथै सन् 1814-मा अङ्ग्रेजले नेपालमाथि आकस्मिक युद्ध थोपिदियो। युद्धमा नेपालको हार भयो र सन् 1815 मा सुगौली सन्धिका साथै युद्धको अन्त भयो।

अङ्ग्रेजहरूसँग गोर्खा वीरहरूले सालभरि युद्ध जारी राखे, तर आधुनिक हतियारले सम्पन्न दुश्मनका अघि उनीहरूलाई घुँडा टेक्न कर लाग्यो र सुगौली सन्धिका साथ सन् 1915 मा यो संघर्ष समाप्त भयो।

सुगौली सन्धिमा नेपालले आफ्नो निम्न भू-भाग ईस्ट इण्डिया कम्पनीलाई सुम्पिनु पऱ्यो -

 

(अर्थात -

क. काली र राप्ती नदीमध्य स्थित मैदानी भूभाग,

ख. राप्ती र गण्डकी नदीको बीच स्थित सम्पूर्ण भू-भाग,

ग. गण्डकी र कोशी नदीमध्य स्थित मैदानी इलाका,

घ. मेची र तिस्ता नदीमध्य पर्ने सम्पूर्ण मैदानी क्षेत्र,

ङ . मेची नदीको पूर्वमा स्थित सम्पूर्ण पहाडी क्षेत्र, जसमा नगरकोटको तराई र उसको छेउछाउ रहेको समस्त भूखण्ड र मोरङ्गदेखि लिएर पहाडतिर जाने पहाडी मार्गसँगै त्यो भूखण्ड जो पहाडी बाटो र नाग्री मध्य स्थित छ।

 

सन्धिपत्रमा हस्ताक्षर गरेका दिन (2 दिसम्बर 1815)देखि लिएर चालीस दिनभित्र उपरोक्त भूखण्डबाट नेपाली फौजलाई खाली गर्ने आदेश दिइयो।

सुगौली सन्धि अन्तर्गत नेपाल राज्यको बृहत् भूखण्ड अङ्ग्रेज शासित भारतको हिस्सा बन्न पुग्यो। यस ऐतिहासिक तथ्यबाट निश्चित रूपमा भन्न सकिन्छ कि यस भूखण्डमा बस्ने नेपाली जनता भारतीय नागरिक बन्न पुगे। यसैले आज यी क्षेत्रमा नेपाली भाषी जनता लाखौं संख्यामा आफ्नो जीवनयापन गर्दै आएका छन्। आज यिनीहरूकै सन्तान भारतका विभिन्न प्रान्तमा फैलिएका छन्।

आफ्नो विकासयात्राको मध्यकालमा नेपाली भाषा शिलालेख र ताम्रपत्रदेखि बाहिरिएर पुस्तकको रूपमा अंकित हुन थाल्यो। यसको पुष्ट आधार सन् 1400 मा लेखिएको भास्वती ग्रन्थ हो। यस सम्बन्धमा घनश्याम नेपाल लेखेका छन - नेपाली भाषामा लेखिएको यथाप्राप्त प्राचीनतम ग्रन्थ हो भास्वतीको नेपाली अनुवाद।

(-नेपाली साहित्यको परिचयात्मक इतिहास, पृ. 30)

नेपाली भाषाको विकासको द्वितीय चरणमा एकातिर अनेक ताम्रपत्र, कनकपत्र तथा शिलालेखहरूमा नेपाली भाषाको नमुना अंकित छ भने, अर्कोतर्फ पुस्तक निर्माण परम्पराको विकास पनि यस कालमा देखिन्छ। यस कालमा प्राप्त ग्रन्थ प्रायः संस्कृतबाट अनुदित छन्। यी ग्रन्थहरूका अनुवादकको कतै पनि उल्लेख पाइँदैन। यस्ता ग्रन्थहरूका केही उदाहरण हुन - खण्ड खाद्य (सन् 1601), स्वस्थानी व्रतकथा (सन् 1601), रामशाहको जीवनी (सन् 1606), राजा गगनीराजको यात्रा (सन् 1493), बाज परीक्षा (सन् 1643), ज्वरोत्पत्ति चिकित्सा (सन् 1716) प्रायश्चित प्रदीप (सन् 1723) आदि।

 

                यी ग्रन्थहरूको विषयवस्तु यस प्रकार छ -

1. खण्डखाद्य - नेपालको जनकपुर अ´्चलमा पुरातात्विक खोजमा प्राप्त यो ग्रन्थ ज्योतिषसँग सम्बन्धित छ। यो संस्कृतबाट अनुदित ग्रन्थ हो।

खण्डखाद्यको भाषिक नमुना तल दिइएको छ -

कर्ता जो ब्रह्मा गुप्ताचार्य छ

ग्रन्थ रचना गर्छ

विघ्नविनासार्थ निमित्त इस्टदेवता महादेवको नमस्कार गर्दो छ

जगत त्रिलोकी भूत संसार जस महादेव का हेतु मात्र होई

उत्पत्ति स्थिति प्रलय तीनै घुम्दा छन्......।

(- बालकृष्ण पोखरेल - पाँच सय वर्ष, पृ.13)

     (भावार्थ - ब्रह्म गुप्ताचार्यले खण्डखाद्यको रचना गरे। बिना बिघ्न-बाधा कार्य समाप्त हुने कामना गर्दै इष्ट देवता महादेवलाई नमस्कार गर्छु। त्रिलोकमा महादेवको इच्छाले नै जीवन छ। उत्पत्ति, स्थिति तथा प्रलय तीनै महादेवका खेल हुन्)।

1.       नेपाली भाषाको प्राचीन ग्रन्थ भास्वतीको नेपाली भाषिक नमुना द्रष्टव्य छ -

मुरारी कृष्णका चरणाकंन नमस्कार करी

शतानन्द नाउँ ऋषिले भास्वति नाउँ ग्र्रन्थ निम्र्यो।

-       (डा. घनश्याम नेपाल: नेपाली साहित्यको परिचयात्मक इतिहास, पृ.30)

(भावार्थ  - मुरारी श्रीकृष्णका चरणमा नमस्कार गर्दै शतानन्द नामक ऋषिले भास्वती ग्रन्थको निर्माण गरे)।

यसमा मूल लेखकको नाउँ स्पष्ट रूपमा उल्लेख गरिएको छ, तर अनुवादकको नाउँ कतैपनि उल्लेख गरिएको छैन।

ग्रन्थहरू मात्रै नभएर यस कालावधिमा प्राप्त केही शिलालेखहरूमा उत्कीर्ण नेपाली भाषाको नमुना द्रष्टव्य छ -

राजा प्रताप मल्लद्वारा सन् 1670मा उत्कीर्ण गराइएको शिलालेख -

श्री श्री प्रतापमल्ल देव आफुले शास्त्र हेरीकन

असंख्य पुण्य देखीकन निकसीकन

गंगा आदि नाउँ तीर्थको जल ली कन

पोखरी महा राख्याको छु।

(- बालकृष्ण पोखरेल: पाँच सय वर्ष, पृ.91)

(भावार्थ - श्री प्रतापमल्लले शास्त्रमा उल्लिखित ज्ञानको आधारमा असंख्य पुण्य प्राप्त गर्नका निम्ति गङ्गादि तीर्थहरूको जल ल्याएर आफ्ना जलाशयमा भरे।)

आफ्नो विकासयात्राको द्वितीय चरणमा नेपाली भाषा धेरै व्याख्यात्मक बनेको देखिन्छ र व्याकरणको नियमको नजिक पुगेको थाह लाग्छ। भारतीय भाषाहरू तथा तिब्बती-बर्मी परिवारका भाषाहरूको सम्पर्कमा आएर शब्दभण्डारमा वृद्धि हुनका साथै यसको रूप स्तरमा पनि धेरै बदलाव आएको देखियो।

मध्यकालीन चरणको नेपाली भाषामा निम्नलिखित विशेषताहरू देखिन्छन्:-

सामान्य विशेषताहरू

प्रारम्भिक चरणदेखि यो कालसम्म आइपुग्दा नेपाली भाषाको स्वरूपमा निम्नलिखित सुधारहरू भए अर्थात नयाँ विशेषताहरूलाई यस प्रकार लिन सकिन्छ -

क. सिञ्जाली भाषाको नाउँले अभिहित नेपाली भाषालाई गोर्खाली वा गोर्खा भाषाको नाउँ प्राप्त भयो।

ख. यस कालमा नेपाली भाषाको विस्तार सम्पूर्ण नेपालमा हुनुका साथै भारतमा पनि भयो।

ग. यस कालमा नेपाली भाषामाथि भारतीय भाषाहरू, तिब्बती-बर्मी र उर्दू भाषाको प्रभाव पनि देखिन्छ।

घ. यस कालमा नेपाली भाषा शिलालेख तथा ताम्रपत्रहरूसम्म मात्रै सीमित नरहेर ग्रन्थ रचनाको माध्यमको रूपमा पनि प्रयोग भयो।

ङ. यस कालमा व्याकरणसम्मत भाषाको स्वरूप निर्माणको प्रयत्न भयो।

च. शब्दहरूको रूपमा परिमार्जन स्पष्ट देखिन्छ। प्रारम्भिककालीन शब्द अक्रि (गर्नु), अक्रयाँ (हुँदै), करि र गर्या मा परिवर्तित भएको देखन्छ। यस शब्दको वर्तमान रूप गरी हो।

छ. नेपाली भाषाको प्रयोग पद्य एवं गद्य दुईवटै साहित्यिक रूपमा हुन थाल्यो।

 

भाषावैज्ञानिक विशेषताहरू

मध्यकालीन चरणमा नेपाली भाषाका भाषावैज्ञानिक विशेषताहरू यस प्रकार छन् -

क. मध्यकालीन नेपालीमा ध्वनिको प्रचलन प्रारम्भ भयो। ध्वनि भए तापनि लाई ख को रूपमा उच्चारण गरिन्थ्यो।

ख. हिन्दी, नेवारी, उर्दू शब्दका साथसाथै एकाध अङ्ग्रेजी शब्दहरूको प्रचलन देखिन्छ।

ग. शब्दहरूमा तत्सम, तद्भव, देशज र विदेशी शब्दावलीको प्रचलन देखिन्छ।

घ. उर्दू शब्दहरूको प्रचलनले ज, , क आदि ध्वनिहरूको आगमन भयो।

ङ. शब्द भेदहरूमा संज्ञा, सर्वनाम, क्रिया, विशेषण, समुच्चयबोधक तथा योजकहरूको प्रयोग देखिन्छ। तर योजकहरूको प्रयोग भने अत्यन्त न्यून मात्रामा देखिन्छ।

च. लिंग व्यवस्था व्यक्ति स्तरमा मात्रै देखिन्छ।

छ. भारतीय एवं नेवारी भाषाहरूको सम्पर्कमा आउनाले नेपालीमा परसर्गहरूको प्रचलन शुरु भयो। प्राचीन नेपालीमा को र का विभक्तिको प्रयोग पाइन्छ भने मध्यकालीन नेपालीमा ले,  लाई,  बाट, देखि, कन आदिको प्रयोग गरिएको पाइन्छ।

ज. वाक्य विधानमा विधानवाचक, आज्ञार्थक, इच्छावाचक तथा नकारात्मक वाक्यहरूको प्रयोग देखिन्छ ।

झ. वाक्यमा कर्ता, कर्म र क्रियाको अन्विति भएको पाइन्छ।

 यस कालमा विराम चिह्नहरूको विकास भयो, जसमा पूर्ण विराम र अल्प विराम प्रमुख हुन्।

ट. संयोगात्मकताको लक्षण अन्तर्गत कारक चिह्न र सहायक क्रिया मूल शब्दसँगै जोडिन थालेको देखिन्छ।

                यसरी आफ्नो विकासयात्राको दोस्रो चरणमा आएर नेपाली भाषा बढी मात्रामा सम्प्रेषणीय बन्न पुग्यो। यसको व्यवहार क्षेत्रको विस्तारका साथसाथै यसको रूपमा पनि परिवर्तन आउन थाल्यो। नवीन शब्द, नया वर्ण, परसर्ग आदिको आगमनले यसको शब्दभण्डारमा अभूतपूर्व बृद्धि भयो।

 

आधुनिक चरण (सन् 1901 देखि वर्तमानसम्म)

सन् 1901देखि नेपाली भाषाको विकासयात्राको तृतीय चरण प्रारम्भ हुन्छ। भाषा विकासको दृष्टिले यो चरण अत्यन्त महत्वपूर्ण हो। कवि मोतीराम भट्ट (सन् 1866-1896)को उदय सँगसँगै नेपाली भाषाले मुद्रणको दुनियाँमा प्रवेश गर्यो। यस कालमा बनारसबाट मोतीराम भट्टको सम्पादनमा गोर्खा भारत जीवन (1887), दार्जिलिङबाट पादरी गंगाप्रसाद प्रधान सम्पादित गोर्खे खबर कागत (सन् 1901), काठमाण्डौंबाट गोर्खापत्र (सन् 1901), बनारसबाट उपन्यास तरंगिनी (सन् 1902), सुन्दरी (सन् 1908), माधवी (सन् 1908) आदि पत्रपत्रिकाहरूको प्रकाशन प्रारम्भ भयो जसले गर्दा नेपाली भाषाको प्रचार-प्रसार व्यापक रूपमा हुन थाल्यो।

सन् 1887 मा मोतीराम भट्टले भानुभक्त आचार्य रचित सम्पूर्ण रामायणको प्रकाशन गरेर सम्पूर्ण नेपाली जगत्मा रामको महिमा प्रकाश गरे। धार्मिक ग्रन्थ भएका कारणले यो ग्रम्थ प्रत्येक नेपाली घरको शोभा बन्न पुग्यो। भाषाको एकरूपता गठनमा यस कृतिले ठूलो क्रान्ति उपस्थित गरायो। यस ग्रन्थले समग्र नेपाली जातिलाई एउटा मानक भाषा स्थापित गर्नमा सफलता प्राप्त गर्यो भनी भन्न सकिन्छ।

यस कालको प्रारम्भमा नेपालमा राणा शासनको निरंकुशताले गर्दा भाषा साहित्यको प्रचार-प्रसार मुक्त रूपमा हुन पाएको थिएन, यसैले नेपाली भाषा साहित्यको केन्द्र स्थल बनारस, दार्जिलिङ र पूर्वोत्तर भारतका आठ राज्यहरू रहे। नेपालमा राणा शासनको अन्त्य सन् 1950 मा भयो। यस पछाडि मात्रै त्यहाँ भाषा र साहित्यको सन्तोषजनक विकास हुन थाल्यो।

दार्जिलिङमा पारसमणि प्रधानद्वारा सम्पादित चन्द्रिका (सन् 1918) नामक पत्रिकाले भाषा परिमार्जनको क्षेत्रमा ऐतिहासिक कार्य गऱ्यो। यस पत्रिकाको माध्यमबाट प्रधानले नेपाली भाषामा एकरूपता ल्याउनका लागि व्यापक रूपमा भाषा परिष्कार आन्दोलन चलाए। उनीले व्याकरणसँगै शब्दकोश र पाठ्य पुस्तकहरूको निर्माण गरेर तत्कालीन आवश्यकतालाई पूरा गरे। सन् 1819 मा प्रा. जे. ए. एटनले अ ग्रामर अफ दि नेपाली लैंग्वैज पुस्तकको निर्माण गरे। यसमा पहिलोपटक गोर्खा भाषाको नाउँले चिनिने भाषाका लागि नेपालीको प्रयोग नेपालेनसिसभनेर गरिएको छ। कलकत्ता विष्वविद्यालयले यसलाई नेपाली पहाडियाको नामले र 30 जुलाई 1926 मा पश्चिम बङगाल सरकारले अधिसूचना जारी गरेर यसलाई नेपालीनामले मान्यता प्रदान गर्यो। सन् 1924 मा दार्जीलिङमा नेपाली साहित्य सम्मेलननामक संस्थाको स्थापना पछाडि यस नामले व्यापकता पायो। नेपालमा सन् 1934को छेउछाउ गोर्खा भाषाको सट्टा नेपालीनामको प्रयोग गर्ने स्वीकृति प्रदान गरियो।

प्रारम्भमा नेपाली भाषाको केन्द्र बनारस हुनका कारणले यसमा संस्कृतको प्रभाव पर्नु स्वाभाविक थियो। नेपाली भाषालाई संस्कृतको बोझाबाट मुक्त गर्नका लागि सन् 1950 मा बनारसदेखि चलाइएको झर्रोवादी आन्दोलन तथा पारसमणि प्रधानले  चलाएको नेपाली भाषा परिष्कार आन्दोलन नेपाली भाषाको इतिहासमा महत्वपूर्ण छन्। यसरी भाषाविद, रचनाकार तथा संस्थाहरूको अथक प्रयासद्वारा नेपाली भाषाले वर्तमान स्वरूप प्राप्त गर्यो।

वर्तमान नेपाल वा भारतका साथसाथै विश्वका कतिपय देशहरूमा नेपाली भाषा व्यवहार गरिन्छ। भारतमा बडो जोडतोडसँग यसको सम्बर्द्धनाको कार्य चलिरहेको छ। सन् 1992 मा भारतीय सम्विधानको आठौं अनुसूचिमा यसलाई एउटा प्रमुख भारतीय भाषाको रूपमा मान्यता प्रदान गरियो। उत्कृष्ट नेपाली कृतिहरू सिर्जना गर्ने रचनाकारहरूलाई प्रत्येक वर्ष साहित्य अकादमी पुरस्कारले सम्मानित गरिन्छ। असंख्य रचनाकार एवं संस्थाहरू यसको संरक्षण-सम्बद्र्धनमा कार्यरत छन्।

भारतमा नेपाली भाषाका तीन प्रमुख भाषिकाहरू - पूर्वी नेपाली, केन्द्रीय नेपाली तथा पश्चिमी नेपाली। यीमध्ये पूर्वी नेपालीको प्रचार र प्रसार भयो। वर्तमान भारतीय नेपाली भाषामा धेरै रूप व्यवहार गरिन्छ। उत्तरा´्चलको नेपाली हिन्दी प्रभावित छ भने दार्जिलिङको नेपालीमा बङ्गाली भाषाको प्रभाव परेको छ। असमीया नेपालीमा असमीयाको प्रभाव देखिन्छ। यसरी नै पूर्वोत्तर भारतका राज्यहरूमा बोलिने नेपाली भाषामाथि स्थानीय भाषाहरूको प्रभाव परेको देखिन्छ। जस्तै असममा नेपाली भाषामा गाखिर (दूध), नाम्नु (उत्रिनु), दलङ (साँघू) आदि शब्दहरू बोलचालको भाषामा आएका छन् भने देहरादूनका नेपाली भाषी बालकहरूले खिडकीमा बन्दर बैठेको छभनेर वाक्य नै परिवर्तन गर्ने प्रयास गरेको पनि पाइन्छ।

नेपाली भाषाले स्थानीय भाषाहरूबाट पर्याप्त शब्दहरू ग्रहण गरेको छ। यस प्रभावले नेपाली भाषाको शब्दभण्डारमा बृद्धि भएको छ, जुनचाहिं यसको सकारात्मक पक्ष हो। आज भारतमा स्कुल, कालेज तथा विश्वविद्यालयहरूमा नेपाली भाषालाई अध्ययन गर्ने सुविधा प्राप्त छ।

सामान्य विशेषताहरू:

आधुनिक कालमा आएर नेपाली भाषाले सम्पूर्णता पाउँछ। यसका विशेषताहरू यस कालमा निम्न प्रकार पाइन्छन् -

क. आधुनिक कालमा नेपाली भाषाको प्रचार-प्रसार भारत देषका साथसाथै विश्वका अन्य देशहरूमा पनि भयो। यो विभिन्न सञ्चार माध्यमको भाषा बन्न पुग्यो।

ख. गोर्खा भाषावा गोर्खालीको नाउँले अभिहित नेपाली भाषाले नेपाली नाउँ  प्राप्त गर्यो।

ग.  नेपाली भाषा व्याकरणसम्मत बन्न पुग्यो।

घ. यस कालमा नेपाली भाषा-साहित्य रचनाको सशक्त माध्यम बन्न पुग्यो।

ङ. यस कालमा नेपाली भाषा व्यापक मात्रामा भारतीय तथा विदेशी भाषाहरूको सम्पर्कमा आयो।  

च. यसमा प्राविधिक शब्दहरूको पनि समावेश भयो।

छ. प्राविधिक, वैज्ञानिक एवं प्रशासनिक शब्दहरूको नेपालीकरण भएको देखिन्छ।

ज. टङ्कण वा मुद्रणको सुविधाको लागि वर्णहरूको रूपमा परिवर्तन भयो। उदाहरण स्वरूप अ, ख, झ,ण पुरानो रूप बदलाउ आयो।

झ. आधुनिक कालमा आएर नेपाली भाषाले आधुनिक आर्य भाषा हुने गौरव प्राप्त गऱ्यो।

भाषा वैज्ञानिक विशेषताहरू:

भाषावैज्ञानिक दृष्टिले पनि यस युगमा धेरै परिवर्तनहरू देख्न पाइन्छ। विश्वको सम्पर्कमा आएर नेपाली भाषामा भएको परिवर्तन यस प्रकार छ -

क. तत्सम, तद्भव, देशज, विदेशी, ध्वन्यात्मक र अनुकरणात्मक शब्दहरूको प्रचलन हुन थाल्यो। देशज शब्दमा नेपालका स्थानीय बोलीहरूका शब्द मात्रै नभएर भारतीय प्रान्तीय भाषाका शब्दहरू पनि मिस्सिन पुगे।

ख. वाक्यमा सरल, मिश्र र संयुक्त वाक्यका साथसाथै अर्थका आधारमा पनि विधानवाचक, नकारात्मक, सकारात्मक, संदेहार्थक, आज्ञार्थक आदि सबै प्रकारका वाक्यहरू प्रचलनमा आउन थाले।

घ. व्याकरणका आधारमा व्याकरणिक कोटिहरूको निर्धारण भयो।

ङ. भाषा समस्त रूपमा संयोगात्मक बन्न पुग्यो। हिन्दीमा परसर्ग एवं सहायक क्रिया शब्दबाट छुट्टै लेखिन्छन् तर नेपालीमा यस्तो हुँदैन। मध्यकालसम्म यो चलन प्रचलित थियो, तर आधुनिक कालमा आएर यी मूल शब्दसँग जोडिन लागे। यसरी नेपाली भाषा संयोगात्मक बन्न पुग्यो।

च. स्त्रीलिङ्ग तथा पुलिंगको प्रयोग व्यक्ति स्तरसम्म मात्रै सीमित रह्यो। मानवेतर प्राणी, वस्तु, पदार्थ सबै पुल्लिङ्गको रूपमा प्रयुक्त हुन लागे। यो नेपाली भाषाको आफ्नो छुट्टै विशेषता हो। हिन्दीमा मानवेत्तर वस्तुको लिङ्ग निर्धारण गर्ने बडो समस्या हुन्छ।

छ. आधुनिक कालको मध्यसम्म शब्दान्तको अर्द्ध अक्षरमा हलन्त लगाउने पद्धति थियो, तर वर्तमानमा आएर यो नियम प्रायः समाप्त भयो। ऐले न र स वर्णमा हलन्त लगाएको पाइन्छ।  

ज. यस कालमा एकवचन- बहुवचनको निर्धारण भयो। 

झ. कारकहरूमा यस प्रकार विकास भयो -

कर्ता      - ले , बाट

कर्म       - लाई, कन

करण           - ले (द्वारा)

सम्प्रदान   - लाई, कालागि, निम्ति

अपादान    - बाट, देखि

सम्बन्ध    - रो, रा,री, को, का, की,नो,ना,नी

अधिकरण - मा माथि

सम्बोधन   - ए,ओ, हे,हौ ।

विराम चिह्नमा हिन्दी र अङ्ग्रेजी सरह सबै चिह्नहरूको प्रयोग हुन थाल्यो।

ट. भाषामा आफ्नै उपसर्ग र प्रत्ययदेखि बाहिर हिन्दी, नेवारी, उर्दू, फारसी आदि भाषाका उपसर्ग र प्रत्ययहरू असंख्य मात्रामा जोडिए।

ठ. शब्दभेदहरूमा विकारी र अविकारी दुवैको प्रयोग हुन लाग्यो।

ड. उखान-टुक्काहरूको प्रयोगले भाषा धेरै सार्थक बन्न पुग्यो।

ढ. टङ्कण एवं मुद्रणको सुविधाका आधारमा भाषाको मानकीकरण भयो।

ण. नेपाली भाषा इन्टरनेटमा प्रयोग गरिने भाषाहरूमध्ये एउटा भाषा बन्न पुग्यो।

पश्चिमी नेपालको एउटा सानो प्रान्तबाट अस्तित्वमा आएको नेपाली भाषा आफ्नो विकासयात्रामा विभिन्न नाउँहरू जस्तै - सिञ्जाली भाषा, गोर्खा भाषा, पर्वते भाषा आदिले चिनिँदै आधुनिक कालमा नेपाली भाषाको रूपमा प्रतिष्ठित भयो। आफ्नो यात्राको मध्यकालमा भारतीय भाषाहरूको सम्पर्कले यसको रूपमा परिवर्तन आयो र यसको सम्पर्कको क्षेत्र पनि विस्तृत हुनगयो। यो भारतीय प्रान्तहरूमा पनि व्यवहृत हुन पुग्यो र यसले गर्दा उर्दू तथा स्थानीय भाषाहरूका शब्द नेपालीमा जोडिन पुगे र यसको शब्द भण्डारमा अभूतपूर्व बृद्धि भयो।

वर्तमानमा पे्रस, रेडियो, सिनेमा, इन्टरनेट र आधुनिक शिक्षाको प्रभावले नेपाली व्याकरणको रूप स्थिर भयो र भाषाको मानक रूप देखा पऱ्यो। आधुनिक शिक्षाको प्रचार-प्रसार तथा समाचारपत्र, रेडियो र सरकारी कार्यहरूमा प्रयोग हुनका कारणले गर्दा आज अङ्ग्रेजीको ज्ञान अनिवार्य भएको छ। नेपाली भाषामाथि पनि यस परिवर्तनको प्रभाव परेको देखिन्छ।

आज धेरै सङ्ख्यामा पुराना शब्दहरूले नवीन अर्थ ग्रहण गरिसकेका छन्। उदाहरणका लागि घरको पर्याय सदनराज्यसभा र लोकसभाका लागि प्रयुक्त हुने गर्दछ। विज्ञान, वाणिज्य आदिको विकासले गर्दा धेरै शब्दहरू अङ्ग्रेजीबाट नेपालीमा भित्रिए। धेरै नया शब्दहरूको निर्माण पनि भयो। यस प्रकारले नेपाली भाषामा पारिभाषिक शब्दावलीको विकास भयो। नेपाली भाषाको व्यवहारक्षेत्र जति व्यापक हुँदै जाँदैछ त्यति नै यसको शब्द-भण्डारमा पनि बृद्धि हुँदै जाँदै छ। हिन्दी, उर्दू, अङ्ग्रेजी तथा अन्य विदेशी भाषाहरूको प्रभावले आज नेपाली भाषाको स्वरूपमा धेरै परिर्वतन आएको छ। वर्तमानमा आएर यो भाषा अन्य विकसित भाषाहरूको बराबरीमा आएको छ जुनचाँहि यसको परिवर्तनशीलता र ग्रहणशीलताको परिचायक हो। भाषाविज्ञानका माध्यमबाट यो भाषा विश्व भाषा विज्ञान महासभाहरूमा आफ्नो स्थान दखल गर्न सफल भएकोछ।

.............................................

सन्दर्भ सूची:

1.            ऐतिहासिक कालमा नेपाली भाषा र साहित्य - मोहनराज शर्मा, अभिलेख 1974

2.            नेपाली भाषा - पारसमणि प्रधान, नेपाली भाषा प्रचारक सङ्घ, 1953

3.            नेपाली भाषा अधिगोष्ठी - चुडानाथ भट्टराई, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान 1975

4.            नेपाली भाषाको उत्पत्ति - चूड़ामणि बन्धु, जगदम्बा प्रकाशन, काठमाण्डू, 1968

5.            नेपाली भाषा विकासको संक्षिप्त इतिहास, सूर्य विक्रम ज्ञवाली, नेपाली साहित्य परिषद दार्जिलिङ्, 1972

6.            नेपाली भाषा र साहित्य, बालकृष्ण पोख्रेल, रत्न पुस्तक भण्डार, काठमाण्डौं, 1975

7.            पाँच सय वर्ष - बालकृष्ण पोखरेल, जगदम्बा प्रकाशन, काठमाण्डू, 1963

8.            नेपाली शब्दकोश - बालकृष्ण शर्मा, रोयल नेपाल एकेडमी, काठमाण्डू,1952

9.            नेपाली बृहत शब्दकोष - वासुदेव त्रिपाठी, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान,1983

10. बृहत नेपाली शब्दकोष - बालकृष्ण पोखरेल, राष्ट्रिय प्रज्ञा प्रतिष्ठान काठमाण्डू, 1983

11. नेपाली भाषा र संस्कृति - डा. गोमा देवी शर्मा, गोर्खाज्योति प्रकाशन, 2013

 

 

कोई टिप्पणी नहीं: