04 सितंबर, 2020

मणिपुरमा नेपाली साहित्य : एक अध्ययन


 

मणिपुरमा नेपाली साहित्य : एक अध्ययन

                      डा.गोमा देवी शर्मा

                              मणिपुर

भारतीय सङ्घमध्ये एक राज्य मणिपुर भारत देशको पूर्वी सीमानामा स्थित सानो राज्य हो। कसैले यसलाई धरतीको सानो स्वर्ग भन्छन्, कसैले पूर्वको स्वीटजरलैण्ड र कसैले यसलाई पूर्वी भारतको मणि पनि भन्ने गर्दछन्। यसको क्षेत्रफल 22,327 स्क्वायर किलोमिटर छ र यो भारतको उत्तर-पूर्वी सीमाको सीमान्त प्रदेश हो। वर्तमान मणिपुर 9 जिल्लाहरूमा विभक्त छ। यस राज्यको कुल जनसंख्या 23,88,634 छ र यसमा नेपालीहरूको संख्या लगभग 50 हजार रहेको छ। मणिपुर चारैतिरबाट डाँड़ाकाँड़ाले ढाकिएको छ। जुन ठाउँमा गए पनि आफूलाई यिनै पहाडहरुको अङ्गालोमा पाउनु यस प्रदेशको विशेषता हो।

                मणिपुरको अधिकतम भूभाग पहाड़ी छ। यसको 9/10 पहाड़ी र 1/10 मैदानी भूभाग छ। यहाँको मुख्य भाषा मितैलोन (मणिपुरी) हो र यसका साथै हिन्दी, अङ्ग्रेजी, नेपाली, नागा, मिजो, मार, पाइते आदि भाषाहरू पनि यस प्रदेशमा व्यवहार गरिन्छन्। श्री श्री गोविन्दजी मन्दिर, महाबली मन्दिर, लोकताक झील, लौकोई पात (झील), राष्ट्रीय उद्यान, सेन्द्रा द्वीप, सिङ्दा डाम, राज्य चिड़ियाघर, इमा (आमा) बजार, राज्य सङ्ग्रहालय, मोरे, सिरोई पहाड़, कौब्रु पहाड़ आदि मणिपुर राज्यका विशेष दर्शनीय स्थलहरू हुन्। इम्फाल, बराक, इरिल, नम्बुल, चक्पी, सेकमाई, इराङ्, तपन, खुगा आदि मणिपुरका विशेष नदीहरू हुन्। यहाँको मुख्य आहार चामल हो र यहाँ धान, साग सब्जिहरू, सुन्तला, अनरस आदिको खेती बढ़ी मात्रामा गरिन्छ। सन् 1950 मा यस सुन्दर राज्यलाई भारतीय सङ्घमा मिलाइयो र 21 जनवरी 1972 मा यसले स्वतन्त्र भारतीय राज्यको दर्जा हासिल गर्यो।

मणिपुरमा गोर्खाली / नेपाली समाजको  उदय

                मणिपुरमा नेपालीहरू वर्षौंदेखि बसोवास गर्दै आएका छन्। यस प्रान्तमा नेपालीहरूको बसोवासको आफ्नै इतिहास छ। पुराना दस्तावेज, लेख, इतिहास, मौखिक वचन आदिको माध्यमबाट मणिपुरमा नेपालीहरू कहिलेदेखि बसोवास गर्दै आए भन्ने कुरा सम्बन्धी तथ्यहरू केलाउनलाई तल दिएका तथ्यमाथि अवलोकन गर्न अनिवार्य छ -

मैतेई वामोन हौरक्फम - मणिपुरमा नेपालीको आगमनको इतिहास केलाउँदा तथ्य स्वरूप मणिपुरी लेखक श्री बी. राजेन्द्र शर्माको पुस्तक मैतै बामोन हौरक्फमलाई पाउँछौं। यस पुस्तकमा लेखकले उल्लेख गरे अनुसार 17औं शताब्दिको उत्तरार्द्ध कालमा नेपालको पहाड़ी भागबाट एकजना सारङ्गी नाम गरेका नेपाली ब्राह्मण मणिपुर आए। उनले मणिपुरी कन्या कुम्बी मयाङ् हैखोल निङोल (चेली) सँग बिहा गरि यतै बसे। तिनीहरूबाट उत्पन्न सन्तानलाई गोतीमयूम (थरी) भनियो।

विक्टोरिया पल्टन, 34औं नेटिभ इन्फेन्ट्री मणिपुरमा गोर्खाहरूको आगमनको ठुलो प्रमाणको रूपमा देखा परेका छन्। सन् 1880 ताका अङ्ग्रेज प्रशासनद्वारा कछारका निम्ति खटाइएको 34औं नेटिभ इन्फेन्ट्रीका गोर्खा सिपाही निरन्जन सिंह छेत्री मणिपुर आए। उनी अङ्ग्रेजहरूको नीतिबाट विरक्तिएर मणिपुरका सेनापति टिकेन्द्रजीतको सेनामा सुबेदारको रूपमा सामेल भए। अङ्ग्रेजले राजद्रोहको अभियोगमा टिकेन्द्रजीतलाई पक्राउ गर्ने जमर्को लियो। यस क्रममा मणिपुरी सैनिक र अङ्ग्रेजहरू बीच ठूलो युद्ध भयो। 8 जून 1891 का दिन पाँचजना अङ्गरक्षक समेत टिकेन्द्रजीतलाई पक्राउ गरि फाँसीको सजा दिइयो। यसमा निरन्जन सिंह क्षेत्री पनि सामेल थिए। मणिपुर आमाको काखमा आफ्नो आहुति दिएर निरन्जन सिंहले आफू सपूत भएको र मणिपुर आमा प्रति आफ्नो देशभक्ति सिद्ध गरेका छन्। 1901 मा प्रकाशित टी. सी. हडसनको पुस्तक द मैथै (THE MEETHEI), असम डिस्ट्रिक्ट गजेटियर 1901 जस्ता दस्तावेजहरू मणिपुरमा यस भन्दा अघि प्रशस्त मात्रामा गोर्खाहरू भएको प्रमाणलाई पुष्ट पार्दछन्।

आसाम राइफल्स, गोर्खाहरूको गोपालन वृत्तिलाई ध्यानमा राख्दै मणिपुर स्टेट दरबारले काङ्ग्लातोंग्बीदेखि काङ्पोक्पी सम्मको चौदह माइल लामो भू-क्षेत्रलाई गोर्खा ग्रेजिङ् ग्राउण्ड (गोर्खा गौचरन खर्क) के. के. रिजर्भ क्षेत्रका नाउँमा नेपाली ग्वालालाई गाई भैंसी पाल्नका लागि छुट्याई दियो। को के. के रिजर्वमा बसाइएका गोर्खाहरूले गौपालन पेशामा कम रुचि र कृषि कार्यमा बढ़ी रुचि देखाएको हुनाले मणिपुर स्टेट दरबारको कोर्टले 26-08-46 का दिन आदेश सुनाउँदै एउटा परिवारलाई डेढ़ परी जमीन साथै धनीपुर्जा प्रदान गर्यो र गोठको इच्छा गर्नेहरूलाई इराङ् क्षेत्रमा जाने आदेश सुनायो। सन 1979 मा यस क्षेत्र अन्तर्गत काङ्ग्लातोंग्बी, कौब्रुलैखा, प्रसाइंर्बस्ती, कालापहाड़ र तोरीबारी नामका पाँचवटा पंचायतहरू निर्माण गरिए। इराङ् क्षेत्र डिस्ट्रिक्ट काउन्सिल अन्तर्गत गाभियो। वर्तमानमा पनि इराङ् भाग 1 भाग 2 र कालापहाड़ डिस्ट्रिक्ट काउन्सिलका तीनवटा सीटबाट गार्खाली/नेपालीहरूलाई चुनाउ लड़ने अधिकार प्राप्त छ।

वैवाहिक सम्बन्ध - मणिपुरमा नेपालीहरूको आगमन पछि राजघरानाको बीचमा सम्पन्न वैवाहिक सम्बन्ध पनि रहेको छ। सन् 1941 मा मणिपुरका महाराजा बोधचन्द्रले नेपालकी राजकुमारी ईश्वरी देवीलाई विवाह गरि मणिपुर ल्याएका थिए। राजकुमारी हुनाले उनिसँग नेपाली सुसारे, डोले, परिचारिकाहरू, ढोके, बैठके, सल्लाहकार, सुरक्षा सैनिकहरू ठुलो संख्यामा मणिपुर आए। उनिहरूलाई यतै बस्ने सुविधा दरबार व्यवस्था अन्तर्गत मिलाइयो। यसरी मणिपुरमा नेपाली समाजको जग बसाल्नमा यी नेपालीहरूले पनि ठूलो भूमिका खेलेका छन्। आज मणिपुरेली नेपालीहरूले विभिन्न सामाजिक, साहित्यिक र धार्मिक सङ्गठनहरू स्थापना गरेर सबल समाजको स्वरूप गठन गर्न सफल भएका छन्।

......................................................

 

साहित्य

मणिपुरेली नेपाली साहित्यको विकासलाई निम्न चरणहरुमा विभाजित गरेर विधागत अध्ययन गर्न सकिन्छ-

कविता साहित्य

                                                              प्रथम चरण (1893-1967)

                मणिपुरेली नेपाली साहित्येतिहासको थालनी सन् 1893 मा तुलाचन आलेद्वारा लेखिएको मणिपुरको लड़ाईको सवाईबाट भएको तथ्य फेला पर्दछ। यस समयमा भारतमा समग्र रूपमा अङ्ग्रेजी शासनका जरा फैलिसकेका थिए। अङ्ग्रेजको गुलामीबाट छुटकारा पाउनका लागि भारतीयहरू सङ्गठित भइसकेका थिए र सिपाही विद्रोह वा पहिलो स्वाधीनता सङ्ग्राममा रानी लक्ष्मीबाई, कुँवर सिंह, ताँत्या टोपे आदि वीर वीराङ्गनाहरूले अङ्ग्रेजहरूलाई आच्छु-आच्छु खेलाइसकेका थिए। यस बेलासम्म भारतीय कङ्ग्रेसको नेतृत्वमा भारतीय स्वाधीनता आन्दोलनले चर्को रूप धारण गरिसकेको थियो। अङ्ग्रेजहरू बलजफत आफ्नो साम्राज्य विस्तार गर्ने क्रमलाई अघि बढ़ाइरहेका थिए। यस क्रमले मणिपुर पनि अछूतो रहन सकेन। मणिपुर दरबारमा पनि अङ्ग्रेजहरूले हस्तक्षेप गरेको हुँदा त्यसको विरोधमा मणिपुरीहरूले आवाज उठाए। यसैले गर्दा सन् 1891 मा खोङ्जोम भन्ने ठाउँमा अङग्रेज र मणिपुरीहरू माझ युद्ध भयो। ब्रिटिश सेनामा कार्यरत तुलाचन आलेले यस युद्धलाई विषयवस्तु बनाएर मणिपुरको लड़ाईको सवाई लेखे। यसको 12 साल पछि आत्माराम मगरले 1905 मा भुइंर्चालोको सवाई लेखे। यस पछि लगभग 59 वर्ष पछिको लामो अन्तराल पछि मात्रै चन्द्रेश्वर दुबे मणिपुरेली नेपाली साहित्यिक धरातलमा देखिए।

                भारतीय नेपाली साहित्य तर्फ हेर्नु हो भने बनारसमा मोतीराम भट्टको प्रतिनिधित्वमा नेपाली साहित्यको एउटा पुष्ट धरातल तयार भइसकेको थियो। गोर्खा भारत जीवन, सुन्दरी, माधवी, उपन्यास तरंगिनी, गोर्खा सेवक जस्ता पत्रिकाहरूले साहित्यिक शङ्ख फुकी सकेका थिए। महेन्द्रप्रभा जस्तो उपन्यासले जन्म लिइसकेको थियो साथै भारतीय नेपाली साहित्यको पहिलो नाटक अटलबहादुरको जन्म पनि भइसकेको थियो। दार्जिलिङ्मा पारसमणि प्रधान, धरणीधर शर्मा, महानन्द सापकोटा, असममा पुष्पलाल उपाध्यायको नेतृत्वमा नवजागरणकालको शङ्खघोष भइसकेको थियो।

तुलाचन आले रचित मणिपुरको लड़ाईको सवाई (1893) काव्य रचना मणिपुरेली माटोमा लेखिएको मणिपुर प्रान्तको प्रथम नेपाली रचना हो। यसै रचनाको आधारमा भन्न सकिन्छ कि यिनी 4344 गोर्खा पल्टनमा लान्स नायक थिए। सन् 1891 मा भएको एंग्लो-मणिपुरी युद्धमा यिनी अङ्ग्रेजी फौजबाट लड़ने एकजना सिपाही थिए। यस युद्धलाई मणिपुरको इतिहासमा खोङ्जोम लान (युद्ध) भनेर जानिन्छ।

                यस कृतिमा जम्मा 122 पङ्क्तिहरू र 30 वटा पदहरू छन्। यो मूल रूपमा सवाई लोकछन्दमा वर्णनात्मक शैलीमा रचिएको छ। यो रचना यथार्थपरक प्रगतिशील रचना हो भन्न सकिन्छ। किन भने जुनबेला यो रचना लेखियो त्यस बेला समग्र नेपाली साहित्य वा भारतीय नेपाली साहित्य बनारसमा श्रृङ्गारिक रचनाधर्ममा चुर्लुम्म डुबेको थियो। यसकालमा तुलाचन आलेद्वारा रचित यो रचना विलास र आडम्बरी दुनियालाई छाडे़र युद्धको विभीषिका वर्णन गर्ने यथार्थपरक रचनाको अग्र पङ्क्तिमा उभिएको देखिन्छ। तुलाचन आलेको यस रचनाले भावि साहित्यको जग बासालेको कुरालाई नकार्न सकिँदैन, त्यसैले यसको अतुलनीय साहित्यिक मूल्य रहेको छ।

                मणिपुरको लड़ाइंर्को सवाई रचनाको लामो अन्तराल पछि आत्माराम मगरले मणिपुरको माटोमा भैंचालाको सवाई लेखे भन्ने कुरा श्री मुक्ति गौतमको ऐतिहासिक पुस्तक मणिपुरमा नेपाली जनजीवनमा उल्लेख गरिएको छ। यस कृतिमा सवाईकार आत्माराम मगरले सन् 1905 मा हिमाचल प्रदेशको कांगड़ामा आएको भूईंचालोले गरेको महाविनाशको वर्णन 136 श्लोकहरूमा गरेका छन्।

                यी दुई काव्य रचना पछि रचना लामो अन्तरालसम्म साहित्य मणिपुरको माटोमा नेपाली साहित्य रचना तिर रचनाकारहरूको ध्यान गएको देखिँदैन। भारत स्वतन्त्र भएपछि मात्रै यस दिशामा रचनाकारहरूले कदम बढ़ाएको देखिन्छ।

बिहार राज्यको मुजफ्फरपुर जिल्ला अन्तर्गत ढोली गाँउमा जन्म लिने चन्द्रेश्वर दुबेले लामो समयसम्म डी. एम. कलेज मणिपुरमा हिन्दी विषयको प्राध्यापकको रूपमा कार्य गरे। यसै समय यिनले हिन्दी साथै थुप्रै नेपाली पुस्तकहरूको रचना पनि गरे। भावि पत्नी (1960), भानुभक्त र घाँसी (खण्ड काव्य 1962) मेची बग्दैथियो  (खण्ड काव्य 1975), लाहुरे (लामो कविता 1978), सम्झनाको डोको (1986), संयुक्त वक्तव्य (1986), उर्वशी, तेस्रो आयामको शवपरीक्षा (1981), नेपाली साहित्य सर्वेक्षण, एश्किलस  शेली र देवकोटा, कालिदास र देवकोटा, देवकोटै देवकोटा आलोचनात्मक पुस्तकहरू दुबेका रचनाहरू हुन्। तर आलोच्य कालखण्डमा काव्यरचना भानुभक्त र घाँसी (खण्ड काव्य 1962) पर्न गएको छ।

प्रवृत्ति

प्रवृत्तिगत अवलोकन गर्दा यस कालका रचनाहरूमा विविध प्रवृत्तिहरू देखा पर्दछन्। तुलाचन आले र आत्माराम मगरले लोक छन्द सवाईलाई लिएर वर्णनात्मक शैली साथै सरलतम नेपाली भाषामा अभिव्यक्ति दिएको पाइन्छ। कविद्वयले यथार्थ घटनालाई वर्ण्यविषय बनाएर प्रगतिशीलताको परिचय दिएका छन्। कवि चन्द्रेश्वर दुबेका कवितामा सामाजिकताको भावबोध पाउनका साथै यथार्थमूलक अभिव्यक्तिको दर्शन पनि पाइन्छ।

............................................................................

दोस्रो चरण (1968-1982)

                सन् 60 को दशक मणिपुरेली नेपाली जनजीवनमा जागरणको काल थियो। यस कालमा मणिपुरमा गोर्खाली समाज सामाजिक, धार्मिक, आर्थिक र साङ्गठनिक रूपमा सम्पन्न भइसकेको थियो। एकातिर कतिपय शैक्षिक संस्थाहरूको स्थापनाले शिक्षाको उज्यालो फैलिसकेको थियो भने अर्को तिर जातीय चेतना र सामाजिक एकताको आवश्यकता प्रति सचेत हुँदै समाजमा विभिन्न सङ्गठनहरू पनि अस्तित्वमा आइसकेका थिए। गोर्खा सुधारक सङ्घ, गोर्खा विद्यार्थी सङ्गठन जस्ता राज्य व्यापि सङ्गठनका साथै गाउँ र प्रान्त स्तरीय सङ्गठनहरू पनि धेरै मात्रामा अस्तित्वमा आए। सामाजिक, शैक्षिक, धार्मिक सबै दृष्टिले यो काल जागरणकाल थियो। यस कालमा सन्देश पत्रिकाको जन्म हुनु एउटा ऐतिहासिक घटना थियो। स्वर्गीय कमल थापाको सम्पादनमा हस्तलिखित रूपमा जन्मलिएको सन्देश पत्रिका मणिपुरबाट निस्किने पहिलो नेपाली पत्रिका थियो। कमल थापाले सन् 1968 मा सन्देशको पहिलो अङ्क हस्तलिखित रूपमा सम्पादन गरेर आफ्नो साहित्यप्रेमको परिचय नेपाली साहित्य जगतलाई दिए। सन् 1970मा यो पत्रिका अखिल मणिपुर गोर्खा विद्यार्थी सङ्गठनको मुखपत्र बन्न पुग्यो।

                यस पछाड़ी आलोक गौतम, मुक्ति गौतम जस्ता वरिष्ट साहित्यकारको सम्पादनमा सम्पादित हुँदै मुद्रित अवस्थामा यो पत्रिका प्रकाशित भयो। यसले धेरै कलमकारहरूलाई जन्मने सुनौलो मौका प्रदान गर्यो। यसले कविता, कथा, नाटक, निबन्ध आदि विधाहरूको विकासमा ठूलो योगदान दियो। यस अवधिमा कमल थापा प्रकाश र आलोक गौतम मणिपुरेली नेपाली साहित्यका केन्द्र बिन्दुको रूपमा देखा परे।

                यसै कालखण्डमा कमल थापा प्रकाशले आफ्नै सम्पादनमा बिरूवा पत्रिका सन् 1973 मा प्रकाशमा ल्याए। यो लगातार 7 अङ्कसम्म प्रकाशित भयो। यस पत्रिकाले पनि जनमानसमा नेपाली भाषा र साहित्यको थप ज्योति जलाउने काममा ठूलो योगदान दियो। सन्देश पत्रिकाले मणिपुरको नेपाली साहित्यको विकासमा भन्दा पनि जनमानसमा निज भाषा र साहित्य प्रति प्रेम भाव जगाएको देख्न पाइन्छ। स्वयं कमल थापा प्रकाश एउटा राम्रा कवि र नाटककारको रूपमा देखा परेका थिए। वर्तमानमा यिनका रचनाहरू गोर्खा ज्योति प्रकाशनले कविता र गीतको सङ्गालो आह चाह र नाटक सङ्ग्रह त्याग प्रकाशमा ल्याएको छ।

                भारतीय नेपाली साहित्यलाई नियाल्दा यस कालखण्डसम्म आइपुग्दा यसले नया मोड़ लिइसकेको देखिन्छ। नरेन्द्र कुमाईं र्, अगम सिंह गिरी, हरिप्रसाद गोर्खा राईद्वारा प्रतिनिधित्व गरिएको स्वच्छन्दतावादी युगको अवसानसँगै दार्जिलिङ्मा आयामिक आन्दोलनको विकास भइसकेको थियो। नेपाली साहित्यमा इन्द्र सुन्दासका उपन्यासहरू मङ्गली, जुनेली रेखा, नियतिको सृजना भइसकेको थियो। आसाममा हरिभक्त कटुवाल, लीलबहादुर क्षत्री, दिल साहनी, तुलबहादुर मालेमा, अनुराग प्रधान, के. बी नेपाली आदिका रचनाहरूले नवचेतनाको स्वर फुकीसकेका थिए।

                भारतको गोर्खाली/नेपाली बहुल क्षेत्रमा रचिएका रचनाहरूले मणिपुरलाई प्रभावित पार्नु स्वभाविकै थियो। यस कालमा 1976 मा प्रकाशित सीताराम लम्सालको लोक शिक्षा मंजरी र चन्द्रेश्वर दुबे रचित मेची बग्दैथियो (खण्डकाव्य 1975) लाहुरे (लामो कविता 1978) पुस्तकको रूपमा प्राप्त हुन्छन्।

प्रवृत्ति

                यस चरणमा आएर मणिपुरको नेपाली साहित्य क्षेत्रमा एउटा ठूलो क्रान्ति उपस्थित भयो। यसको सबैभन्दा ठूलो विशेषता पत्र-पत्रिकाहरू अस्तित्वमा आउनु हो। छन्दमुक्त कविता रचनाका साथै गद्य कविताको थालनी पनि यस कालमा भएको देख्न पाइन्छ। साहित्यका विविध विधाहरूको थालनी पनि यस कालमा भएको देख्न पाइन्छ। पुस्तक रूपमा न भएर पत्र-पत्रिकामै भएपनि कथा, निबन्ध, नाटकका साथै गद्यका अन्य विधाहरूलाई रचनाकारहरूले आफ्नो अभिव्यक्तिको माध्यम बनाएको देखिन्छ। काव्य विधामा चन्द्रेश्वर दुबेद्वारा खण्डकाव्यको रचना यस कालको प्रमुख उपलब्धि बनेर देखा परेको छ। चन्द्रेश्वर दुबेका रचनाहरूमा सामाजिक अभिव्यक्ति देख्न पाइन्छ भने सीताराम लम्सालका कवितामा नीतिमूलक प्रवृत्तिको दर्शन पाइन्छ। भाषिक पक्षलाई हेर्ने हो भने यस कालका रचनाहरूमा शिष्ट र व्याकरण सम्मत नेपाली भाषा देख्न पाइन्छ।

तेस्रो चरण (1983-2005)

                यस चरणसम्म आइपुग्दा मणिपुरेली गोर्खाध्नेपाली समाजले सामाजिक, आर्थिक, राजनैतिक र धार्मिक रूपले सम्पन्नता प्राप्त गरिसकेको थियो। जातीय एकता एवं अधिकारका लागि धेरै राज्यव्यापि सङ्गठनहरू सक्रिय थिए। जति राज्य स्तरमा गोर्खा जातिले व्यापक उन्नति गर्दै गयो त्यतिनै मणिपुरका आततायीहरूका आँखा पोल्दै गए। भित्रभित्रै विदेशीको नाममा नेपालीहरूलाई सताइन लाग्यो। यस्को परिणामस्वरूप सन् 1980 मा साइकुल केन्द्र अन्तर्गत बसोवास गर्ने धेरै नेपालीहरूका घर आगो लगाइए। यस कृत्यमा धेरै गोर्खाहरू पीड़ित भए। धेरै घरहरू क्षतिग्रस्त भए र धेरै जनता विस्थापित भए। यसले गर्दा सामाजिक सङ्गठन अझ सक्रिय भए। सन् 1951 मा स्थापित गोर्खा सुधारक सङ्घ धेरै समयसम्म मौन रहेपछि यसले 1999 मा सक्रिय भएर 44 औं वार्षिक अधिवेशन सम्पन्न गर्यो। यसको मुख्य उद्देश्य मणिपुरमा नेपालीहरूको बसोबासोको मूल्यांकन थियो।

                यसै जातीय जागरणको क्रममा सन् 1983 मा नेपाली साहित्य परिषदको गठन भयो। नव गठित साहित्य परिषदका संस्थापक अध्यक्ष नारायणप्रसाद उप्रेती तथा मूल सचिव खेमानन्द शर्मा मिश्र थिए। सन् 1982 मा काङ्ग्लातोंग्बी निवासी खेमानन्द शर्मा मिश्रको सम्पादनमा नेती प्रकाशनको प्रकाशकत्वमा सामयिक नेती पत्रिका अस्तित्वमा आयो। केही समय देखा पर्दै फेरि निभ्दै गरेको मणिपुरेली नेपाली साहित्यलाई नेती पत्रिकाले ठूलो टेवा पुर्यायो। 1983 मा नेपाली साहित्य परिषदको गठन पछि नेती नेपाली साहित्य परिषदको मुखपत्र बन्न पुग्यो। यसै कालमा नेपाली साहित्य परिषद मणिपुरकै तत्वावधानमा स्कूल एवं कलेज स्तरमा नेपाली भाषाका पाठ्यपुस्तक निर्माण भए जस्ले गर्दा नेपाली विद्यार्थीहरूले नेपाली भाषा पढ़ने अवसर पाइरहेका छन्।

                यस कालमा नेती बाहेक प्रकाशित हुने अन्य पत्रिकाहरूमा समिधा, चिनारी, बेला, सन्देश, नारदगङ्गा, सङ्कल्प, मन्जरी, चिनारी, काङ्ग्लातोंग्बी बेला, सङ्कल्प जस्ता पत्रिका विशेष रूपमा देखा पर्दछन्। यी पत्र-पत्रिकाहरूले मणिपुरेली नेपाली साहित्यको विकासमा ठूलो भूमिका खेलेको देखिन्छ। यसको फलस्वरूप धेरै कवि लेखकहरू साहित्य क्षेत्रमा देखा परे। 

यस कालखण्डमा अनिरूद्ध गौतम रचित दुई काव्य रचनाहरू प्रकाशित भएका छन् - चस्मा भित्रका घायल आँखा (1983)   अज्ञात शब्दको पछिपछि (1986), चन्द्रेश्वर दूबेका संयुक्त वक्तव्य (1983) सम्झनाको डोको (1986), आलोक गौतमको मान्छे भित्रको मान्छे बोल्छ (2007), पं. कृष्णप्रसाद काफ्लेका मनका खुड़का (1988), श्राद्ध मन्जरी (1991) मानवता (2014), पदमबहादुर राई ओल्ड ब्वायको कस्तूरी (2007) कीर्तिमणि खतिवड़ाको कविता सङ्ग्रह   (2003) यस चरणमा प्रकाशित कृतिहरू हुन्।

प्रवृत्ति

यस चरणका रचनाहरूमा विविध प्रवृत्तिहरू देखा पर्न गएका छन्। अनिरूद्ध गौतमका रचनाहरू बढ़ी प्रयोगवादी र यथार्थवादी भएर देखा परेका छन्। यस कालका रचनाहरूमा राजनैतिक, सामाजिक यथार्थ, भ्रष्ट अधिकारीहरूको चरित्रको खुलासा, गहिरो दार्शनिकता, नवीनताको आग्रह, पुरानो परम्पराको पालन गर्ने आग्रह, रोमान्टिक भावधारा, प्रगतिशीलता, नारी प्रति नवीन दृष्टिकोण, धर्म, समाज, शासनको सम्बन्धमा स्वाङ रचेर आफूलाई ठालू मान्ने दम्भीहरूका चरित्रको खुलासा, राष्ट्रगौरव, पूर्ण मानवको परिकल्पना, कमजोरीहरूलाई स्वीकार गर्ने सबल मानवको चित्रण पनि कवितामा भएको देखिन्छ। नेतीकालसम्म आइपुग्दा नेपाली भाषा बढ़ी व्याख्यात्मक, शिष्ट र मानक भएको देखिन्छ। कुनै पनि कविहरूले क्लिष्ट र आडम्बरी शब्द प्रयोगको जालोमा परेर पाठकलाई अन्योलमा पार्ने जमर्को गरेको देखिँदैन।

---------------------------------       

चौथो चरण (2006 - आज पर्यन्त)

लामो अन्तरालसम्म मणिपुरको नेपाली साहित्य फेरि एक पटक मन्द भयो। चल्दै गरेका पत्रपत्रिकाहरूले दीर्घ गति लिन सकेनन्। नेतीकालमा प्रकाशित पत्र-पत्रिकाहरू केही समयसम्म निस्कँदै बन्द हुँदै गरे। यहाँसम्म कि सन्देशले पनि निरन्तरता लिन सकेन। नेती छैठौं, सातौं-आठौं र नवम अङ्कहरू प्रकाशित भएको देखिन्छ। नेपाली साहित्य परिषदका अन्य गतिविधिहरू पनि यस कालखण्डमा देखा पर्दछन्। तर शैक्षिक रूपमा जागृत र साहित्यिक चेतनाले भरिएको व्यापक जनसमुदायका रचनाहरू वर्ष वा डेढ़ वर्षमा एकपटक प्रकाशित हुने नेतीले आफूमा समेट्न सकेन। प्रकाशित गर्ने माध्यम न पाउँदा मणिपुरेली नेपाली रचनाकारहरूका रचनाहरूले आकार पाउन सकेनन्। प्रकाशन माध्यमको कमिले गर्दा लेख्ने युवाहरूमा पनि जाँगर कम हुँदै गयो। यस्तो अवस्थामा गोर्खा ज्योति मासिक पत्रिकाको जन्म भयो।

                कौबु्लैखा निवासी सीताराम अधिकारीको सम्पादनमा गोर्खा ज्योतिको पहिलो अङ्कको प्रकाशन अक्टूबर, 2006 मा भयो। यसमा संलग्न व्यक्तित्वहरूमा मुक्ति गौतम, देवी थापा, नेत्रप्रसाद अधिकारी, हरि बस्नेत, बासुदेव खनाल, गोमा शर्मा, बबिता घिमिरे, मोहन पोख्रेल, काशीनाथ अधिकारी, दीपक पन्थ, राहुल राई बोगिको, किश्मत भट्टराई, श्याम भण्डारी देखिए। मणिपुरेली नेपाली साहित्यको विकासमा यस पत्रिकाले एउटा क्रान्ति ल्याउन सफल भयो। यस पत्रिकाले असङ्ख्य सिकारू कलमहरूलाई फक्रिने मौका दिनका साथैं यो मणिपुरेली गोर्खाको घर-घरको ज्योति बन्न सफल भयो। यसरी विचार, विषय, भाव, शैली आदिमा नवीन प्रयोग गरिएका रचनाहरू गोर्खा ज्योतिमा प्रकाशित हुन थाले।

यस पत्रिकाले धेरै कलमकारहरूलाई स्थापित लेखकका रूपमा भारतीय नेपाली साहित्य सामु उभ्याउन सफल भयो। यस्ता रचनाकारहरूमा सम्पादक स्वयं, गोमा शर्मा, दीपक पन्थ, नेत्रप्रसाद अधिकारी, देवी थापा मामा, हरि बस्नेत, राहुल राई बोगिको, कुमार खत्रीको नाम अग्रगण्य छ। सन 2007 सम्म गोर्खा ज्योति पत्रिकाले धेरै रचनाकारहरूलाई जन्माइसकेको थियो।

सङ्गठनले रचनाकारहरूमा साहित्यप्रति थप रुचि जगाउनका निम्ति गोर्खा ज्योति प्रकाशनको सहयोगी समूह बनायो। अथक साहित्य सेवीहरूको निस्वार्थ योगदानमा प्रकाशनको प्रस्तावलाई कार्यान्वयन गरियो। आर्थिक सहयोगका निम्ति पुनः सदस्यहरूमा बृद्धि गरियो। प्रत्येक सदस्यले कुनै पनि रचनाकारको रचना प्रकाशनका लागि रू. 500/- सहयोग गर्ने प्रावधान बनाइयो। यसै क्रमले आज पर्यन्त गोर्खा ज्योति प्रकाशनले 40 वटा कृतिहरू प्रकाशित गरिसकेको छ।

यसै चरणमा कांग्लातोङ्बी तीसपरी निवासी राहुल राई बोगिकोको सिरोई सिर्जना नामको मासिक पत्रिका लिएर सन् 2015 बाट पत्रकारिता जगतमा देखा पर्दछन्। यस पत्रिकाले मणिपुरलाई बाहिरी दुनियासँग जोडनमा ठुलो भूमिका खेलेको देखिन्छ। सन् 2016 मा निस्किएको यसको वार्षिक विशेषाङ्कले यो विश्व स्तरमा आफ्नो पहिचान बनाउन सफल भयो। यसै क्रममा सन्देश र नेतीका केही अंकहरु पनि प्रकाशित भएका देखिन्छन्।

यस चरणमा देखा परेका रचनाहरूमा नेत्रप्रसाद अधिकारीको कलिला बेलपत्रहरू (2009), दीपक पन्थको पूर्णिमाको जून (2008) गजल सङ्ग्रह, डा. सीताराम अधिकारीको आधुनिक मान्छे कविता सङ्ग्रह (2010), मनुष्य शरीर र स्वास्थ्य (2012) कर्तव्य पथ नाटक (2015), राहुल राई बोगीकोका एक जोड़ी परेवा (कथा सङ्ग्रह 2011), एक मुठी कविताहरू (2013) मेरा अनुभूतिहरू (कथा सङ्ग्रह 2014), कमल थापा प्रकाशको मरणोपरान्त प्रकाशित कविता सँगालो आह चाह, घनश्याम कोइरालाका मिस्कल (2011) सृष्टिका दुई धार (खण्डकाव्य 2012), खत्री कुमारको प्रकृति र मान्छे (2014), सृष्टि पौड्यालको गुनासो, बसन्ती पौडेलको बिहानीको प्रतीक्षा (2017), सल्बलाएका अक्षरहरू (2018), सीतादेवीको एउटै धरामा (2017), सूरज चापागाईँको क्यामभासको क्षितिज (2017), होमप्रसाद शिवाकोटीको भाव लहरी (2017), चुड़ामणि खरेल कृत प्रतिबिम्ब मणिपुरको (2018), यस चरणका महत्वपूर्ण काव्य कृतिहरू हुन्।

यस कालका रचनाहरूमा गद्यात्मक अभिव्यक्तिको विशेषता पाइन्छ। उपदेश, यथार्थ चेतना, अस्तित्व चेतना, व्यवस्थाप्रति क्रोध, अस्तित्व चेतना, जातिको दीनहीन दशा, अतिशय वैयक्तिकता, जातीय चेतनाको उद्घोष, सङ्घर्षशीलता, नवीन रचनाको प्रेरणा र प्रकृति रक्षा, अतिशय वैयक्तिकता, आधुनिकताको खोक्रोपन र व्यवस्थाप्रति आक्रोश, नारी चेतनाको प्रखर स्वर, राष्ट्र गौरव नवीन काव्य शैलीको दर्शन अन्य विशेष प्रवृत्तिहरू हुन्।

................................................................

  गद्य साहित्य

कथा साहित्य

मणिपुरेली नेपाली साहित्यले कथा विधामा पनि निकै प्रगति गरेको देखिन्छ। कथाहरूको पृष्ठभूमि पनि स्थानीय जातीय, राजनैतिक, धार्मिक, सामाजिक र वैयक्तिक समस्याहरूको धरातल रहेको देखिन्छ। आशारानी राई को कथाकृति यम द्वितीया (1999) मणिपुर प्रान्तबाट निस्किएको पहिलो नेपाली कथाकृति हो। यस कृतिले प्रारम्भिककालीन मणिपुरेली नेपाली कथा साहित्यको विकासमा महत्वपूर्ण स्थान ओगट्छ। पदमबहादुर राई ओल्ड ब्वायको सिमाना (2007) यस भेकको दोस्रो कथासङ्ग्रह हो। सन् 2000 पछाड़िका वर्षहरू मणिपुरेली नेपाली कथा साहित्यका निम्ति एउटा सुनौलो समय बनेर देखा पर्दछन्। छोटा कथालेखनमा कालापहाड़ निवासी मुक्ति गौतम पत्र-पत्रिका मार्फत पहिलोपल्ट देखा परे तापनि यस क्षेत्रमा काङ्ग्लातोंग्बी निवासी देवीथापा मामाप्रकाशित कथा सङ्ग्रहहरू लिएर मणिपुरेली नेपाली साहित्य जगतमा देखापरेका कथाकार हुन्।

देवीप्रसाद थापा मामाका अहिलेसम्म प्रकाशित लघु कथाकृतिहरूमा आमा (2011) बाबा (2012), सासू (2013) माइती कथा सङ्ग्रह (2014) प्रमुख छन्। इचे शर्मिला यिनको 2011 मा प्रकाशित भएको मणिपुरी कविता सङ्ग्रह हो। महेश पौड्यालको अनामिक यात्री (1910) राहुल राई बोगीकोको एक जोड़ी परेवा (2011), मेरा अनुभूतिहरू (2014), हरिमोहन पोख्रेलको बगुल्लाको महासभा (2013), भवानी अधिकारीको मेरो लोकताक (2018) सीतादेवी छेत्रीको मूल परेको छोरो (2018) अहिलेसम्म प्रकाशित कथा कृति हुन्। यी कथाहरूले लेखक आफू स्वयंले देखे-भोगेका सामाजिक तथ्यहरू बोकेका छन्। सबै पात्रहरू समाजमा देखा पर्ने दैनिक जीवन भोगी रहेका गाँउले मानिसहरू छन्।

 

उपन्यास

मणिपुरेली नेपाली साहित्याकाशमा अन्य विधा फस्टाएझैं उपन्यास विधा फस्टाएको देखिँदैन। अहिलेसम्म चन्द्रेश्वर दुबे मात्रै एक्ला उपन्यासकारको रूपमा देखिएका छन्। यिनका दुइवटा उपन्यास देशको माटोजिन्दगीको बाटो (1978) प्रकाशित छन्।

देशको माटो एउटा चरित्र प्रधान उपन्यास हो। यस उपन्यासमा मानिसको अभिरुचि र स्वभावको अध्ययन गर्ने प्रयास गरिएको छ। समाजका शिक्षक, समाज सेवी, कवि, सम्पादक र नेताहरूको चरित्रको अध्ययन विश्लेषण सफलतापूर्वक गरिएको छ। यस उपन्यासमा पूर्वी नेपालको तराई भूखण्डमा बस्ने नेपालीहरूको जीवनशैलीलाई वर्ण्य विषय बनाइएको छ। जिन्दगीको बाटो पनि चरित्रप्रधान नारीवादी उपन्यास हो। यो आत्मकथात्मक शैलीमा लेखिएको छ। यसकी प्रमुख पात्रा काकी एउटी निडर, साहसी र निर्भिक नारी हुन्। उनि यथार्थमा जिउने स्वाभिमानी नारी हुन्। आफ्नो अस्तित्वप्रति सचेत र स्वतन्त्रता प्रेमी काकी पतिको अस्तित्वलाई परम्परागत रूपमा स्वीकार गर्न तैयार छैनन्। उ आफ्नो अस्तित्वलाई पतिमा हराउन चाहन्नन्। उनि आधुनिक जाग्रत नारीको रूपमा पाठक सामु देखा पर्छिन्।

 

निबन्ध

मणिपुरेली नेपाली कलमकारहरूले साहित्यका अन्य विधा सरह न्यून मात्रामा निबन्ध विधालाई आफ्नो अभिव्यक्तिको माध्यम बनाएको देखिन्छ। यस विधाको सन्तोषजनक विकास भएको देखिँदैन। हुन त प्रारम्भ देखि नै पत्र-पत्रिकाहरूमा प्रशस्त मात्रामा निबन्धहरू प्रकाशित भएको देखिन्छ। तर पनि यस प्रान्तमा पुस्तकको रूपमा पहिलो निबन्ध कृति पं. बद्रीशरण खतिवड़ा रचित 9 परिदर्शन देखा परेको छ। भवानी अधिकारी लिखित मनका आवेग (2015), आँखिझ्याल भित्र मणिपुर (2017), मुक्ति गौतमको विचार प्रवाह, रामप्रसाद पौड्यालका फुटकर निबन्धहरूमा पापीको अभाव, भोकाएको सम्मान, बन्दी बसन्त, सपना बुख्याँचाको आदि देखा पर्दछन्।

                यी निबन्धहरूमा बदलिँदै गरेको विश्व, मानिसको स्वार्थी प्रवृत्तिले गर्दा प्रकृतिलाई पुगेको क्षति, बमकाण्ड, दिनहुँ हुने नरसंहार गाँउ विकासको कामना, जीवन र प्रकृतिको महत्व, मणिपुरको उग्रवादको आड़मा समाजलाई हप्काउने दप्काउने प्रवृत्तिमाथि प्रहार, समसामयिकता, वैचारिकताको उच्च भावभूमि र आकर्षक शैलीको दर्शन पाइन्छ।

.                                    ..........................................................

 

नाटक

मणिपुरेली नेपाली समाजमा नाट्य परम्पराको सूत्रपात भारत स्वतन्त्र हुनुभन्दा अघिनै भएको भन्ने प्रमाणहरू प्राप्त भएका छन्। गोर्खा जातिले मणिपुरमा बसोवास गर्नपछि धेरै कारणहरू रहेका छन्। तीमध्ये एउटा कारण असम राइफल्स हो। यसमा सेवारत गोर्खाहरूमा केही साहित्यप्रेमी पनि थिए। उनिहरूको साहित्यप्रेम नै मणिपुरेली गोर्खाली समाजमा नाट्य परम्पराको सूत्रपातको कारण बन्नपुग्यो।

चौथो असम राइफल्स मणिपुरेली नेपाली नाटकको जन्म थलो थियो। थियेटरको सुविधा नभए तापनि बड़ा दशैंको अवसरमा अस्थायी मंच निर्माण गरि एकांकी, प्रहसन वा लघुनाटकहरू हर्षोल्लासका साथ मंचन गरिन्थ्यो भन्ने कुराको तथ्य पुराना बुढ़ा पाकाहरूबाट प्राप्त हुन्छ। नाट्य क्षेत्रमा मेजर हेमबहादुर लिम्बुको स्थान अग्रगण्य छ। यिनी मणिपुरेली गोर्खा समुदायका प्रथम नाटककार थिए भन्ने कुरामा कुनै संशय छैन। सन् 1942 मा लिम्बुद्वारा निर्देशित नाटक राजा हरिश्चन्द्रको दशैंको अवसरमा चौथो असम राइफल्समा सफलतापुर्वक मंचन गरियो। यसको सफलताले यिनको मनोबल दृढ़ भयो र यस पश्चात यिनले कृष्ण जन्म, सीताहरणसती रानक देवीको क्रमशः सफलतापूर्वक मंचन गरे। यसपछि प्रतापचन्द्र राईद्वारा निर्देशित नाटक जयद्रथ वधले पनि त्यसताका निकै प्रसिद्धि हासिल गरेको कुरा बुझिन्छ।

माथि उल्लेख गरिएका नाटककारहरू पछि चौथो असम राइफल्समा टी.बी.चन्द्र सुब्बा मौलिक नाट्य क्षेत्रमा देखा परे। कालिया दमन र बहिनीको लागि यिनका सफल नाटकहरू थिए। सन् 1942 मा शुरू भएको यो परम्परा सन् 1950 सम्म अबाध गतिमा अघि बढ़ेको देखिन्छ। मौलिक नाटक लेखन परम्पराको क्षेत्रमा काङ्ग्लातोंग्बी निवासी स्वर्गीय कमल थापा प्रकाशको ठूलो योगदान रहेको पाइन्छ। यिनले आफ्नो जीवनको छोटो अवधिमा दशवटाभन्दा बढ़ी मौलिक नाटकहरूको प्रणयन र मंचन गरि नेपाली नाट्य परम्परालाई अघि बढ़ाएको पाइन्छ। तर यिनको असामयिक निधनले यो परम्परा पनि अँध्यारोतिर विलीन भएको देखिन्छ। वर्तमानमा आएर गोर्खा ज्योति प्रकाशनले कमल थापाका प्राप्त नाटकहरूमा त्याग प्रकाशित गरिसकेको छ र साथै अन्य नाटकहरू पनि प्रकाशित गर्ने जमर्को गर्दै छ। हारजीत (1975), सुस्केरा (1977), निश्छल स्मृति, ममता, कलङ्क, घर-घरको कथा कमल थापा प्रकाशका मंचित नाटकहरू हुन्। त्याग नाटक कमल थापाको प्रथम प्रकाशित नाट्य रचना हो। यो गोर्खा ज्योति प्रकाशनद्वारा अक्टोबर 2015 मा प्रकाशित गरियो। महेश पौड्याल नाटक क्षेत्रमा देखा परेका अर्का कुशल नाट्यकार हुन्। यिनले सन् 1990 मा दाजुको कर्तव्य, 1999 मा देशको माटो2001 मा दाइजो शीर्षकको नाटक पनि यसै गरी लेखन, निर्देशन र मंचन काङ्ग्लातोंग्बीमा गरेको थाह लाग्दछ। फुटकर नाटक हरूमा चुडामणि चापागाईं रचित प्रहारको चोट (1984), नौलो बिहान (1985), वेदना (1987), आ आफ्नो व्यथा (1988), तारसिंह बिष्ट रचित चीसो आँखा (1983), फेरि खाँड़ो पखाल्नै पर्छ (1986),  चुड़ामणि खरेल रचित अर्चना (1986), रोशन कुमार उप्रेती रचित त्याग एउटा प्रेम कथा (2001), लक्ष्मण शर्मा रचित उपहार (2002), समर्पण (2005), शिव कुमार बस्नेत रचित महिमा (2003) दशैंको मौकामा बड़ो उत्साहका साथ सफलतापूर्वक मंचित भएका नाटकहरू हुन्।

कौब्रुलैखा ग्रामका पं. नारायण प्रसाद शर्मा द्वारा रचित हरिश्चन्द्र (1972) अमर प्रेम (1976), काजी मोक्तान रचित छोरीको जन्म हारेको कर्म (1978), प्रेम दाहाल रचित बदला (1984), गौरीमान भट्टराई रचित खूनको कसम (1991),नन्दलाल बजगाईं रचित आँसु सरिको हाँसो, अकाल मृत्यु, अभिलाषा, पवित्र प्रेम, अनुसन्धान, बिदाई चन्द्रमानबाट स्व. लक्ष्मी प्रसाद मैनाली रचित प्रतिशोध (1993), तोरीबारीबाट शिवलाल भण्डारी, इराङ्गबाट मणिकुमार पौड्याल, गोविन्द न्यौपाने र टिकाराम पौड्याल, गोमा पौड्याल (अमर शहीद) आदिले नाटक रचना गरेर मंचन गराएको पाइन्छ। यस उप्रान्त राज्यका प्रायः जसो सबै प्र्रान्तमा दशैं तिहारको अवसरमा अस्थाई मंच निर्माण गरि नाटकको मंचन गरेको तथ्यहरू फेला परेका छन्। तर यस्ता धेरै नाटकहरूको विवरण प्राप्त गर्न सकिएन।

 

आलोचना

पत्र-पत्रिकामा रामप्रसाद पौड्याल, गोमा शर्मा, सीताराम अधिकारी, हरिमोहन पोख्रेल आदिका छुटपुट आलोचनात्क लेखहरू प्रकाशित भए तापनि पुस्तककाकार रूपमा मणिपुर प्रान्तबाट यस विधामा पुस्तक प्रकाशित गर्ने आलोचकहरू भने नगण्य मात्रामा देखा परेका छन्। अहिलेसम्म यस विधामा पुस्तकहरू प्रकाशित गर्नेहरूमा चन्द्रेश्वर दुबेको मात्रै नाम देखा परेको छ। चन्द्रेश्वर दुबेका तेस्रो आयामको शवपरीक्षा (1981), नेपाली साहित्य सर्वेक्षण, एश्किलस, शेली र देवकोटा, कालिदास र देवकोटा, देवकोटै देवकोटा (1991) आलोचनात्मक पुस्तकहको क्षेत्रमा कलम चलाउनेहरूबाट आलोचना पुस्तकहरूको अपेक्षा राख्न सकिन्छ।

अन्य प्रबन्ध ग्रन्थ

                कविता, कथा, निबन्ध र अन्य विधा सरह मणिपुरेली नेपाली साहित्यमा अन्य प्रबन्ध ग्रन्थहरू पनि देखा परेका छन्। यस्ता प्रमुख ग्रन्थहरूमा मुक्ति गौतम लिखित मणिपुरमा नेपाली जनजीवन (1999, 2017), डा. गोमा शर्मा अधिकारीको नेपाली भाषा र संस्कृति (2012), मणिपुरमा नेपाली साहित्यः एक अध्ययन (2015), भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहास (2018) प्रमुख प्रकाशित ग्रन्थ हुन्। यी प्रन्थहरुमा शोधमूलक प्रवृत्ति देखा पर्दछन्। यी कृतिहरु क्षेत्रीय स्तरमा मात्रै नभएर सम्पूर्ण भारतीय स्तरमा दस्तावेजको रूपमा उभिन सफल छन्।

 

अनुवाद

                मणिपुरेली नेपाली साहित्य अनुवादका लागि धेरै गरिब हालतमा रहेको छ। यस विषय प्रति कलमकारहरूको ध्यान नजानु एउटा दुखद कुरो हो। यस सम्बन्धमा सुश्मिता पोख्रेलद्वारा अनुदित एक मात्र पुस्तक सीमानामा देखा परेको छ। सिमानामा 2012 मा शिल्पायान दिल्लीबाट प्रकाशित छ। यो एउटा अनुदित कृति हो। यो सीमा सुरक्षा बलमा कार्यरत मनोहर बाथमद्वारा मूल हिन्दी भाषामा रचित काव्यकृति हो।

                भवानी अधिकारीद्वारा एलाङ्बम दिनमणिको मणिपुरी कथा सङग्रह पिस्तौल अमा कुन्दा लै अमाको नेपाली अनुवाद एउटा पिस्तौल एउटा कुन्द-पुष्प (2018) अर्को महत्वपूर्ण अनुदित कृति हो। यसले दुई समुदायमा भाषा साहित्यको आदान-प्रदान गर्न र मैत्री भाव बढाउनमा साँघुको भूमिका खेलेको छ।

 

धार्मिक ग्रन्थ

                धर्म मानिसको सबैभन्दा बलियो शक्ति हुन्छ। मानिस धर्मको सहाराले निकृष्ट कर्म गर्नबाट जोगिन्छ। यसैले गर्दा समाजमा जनकल्याणका कार्यहरू सम्पन्न गरिन्छन्। यसले व्यक्ति जीवनमा सन्तुलन कायम हुन्छ र जीवनले अघि बढ़ने एउटा गोरेटो प्राप्त गर्दछ। यसैले बाहिरबाट आउने आक्रमणकारीहरूले शासनमा कब्जा गर्नका साथै धर्ममा पनि आक्रमण गरेको देखिन्छ। हिन्दू धर्मको प्रारम्भ कहिले भयो भन्ने प्रश्नको विश्लेषण गर्दा पृथ्वीको शुरूवात सँगै भएको हो भन्न सकिन्छ। पृथ्वीले परिक्रमा गर्दा उत्पन्न हुने प्रणव ध्वनिनै (ॐ) यसको पुष्ट आधार हो। यो ध्वनि सनातन धर्मको प्राण बनेर बसेको छ।

                धार्मिक विषयलाई लिएर मणिपुरमा समय समयमा पुस्तकहरू प्रकाशमा आइरहेका छन्।     सन् 1956 मा नरध्वज लिम्बू (वंशीदास थेवे) रचित धार्मिक ग्रन्थ ज्ञानज्योति यस भेकमा लेखिएको पहिलो कृति हो। यसमा साधारण धार्मिक क्रियाकलाप सम्बन्धी र व्यावहारिक ज्ञानको शिक्षा प्रदान गरिएको छ। महाप्रभु मार्गदर्शन (1979) यिनको अर्को प्रकाशित ग्रन्थ हो। कृष्णप्रसाद काफ्ले रचित श्राद्ध मन्जरी (1992), होमप्रसाद सिवाकोटीको ज्ञानरत्न सङ्ग्रह (2010), पं. बद्रीशरण खतिवड़ाका कुमारी दीक्षा (2000) आशादेवी व्रतकथा (मिति उल्लेख छैन), कुम्भ श्राद्ध (2005), मुक्ति गौतमको हिन्दू अध्यात्म चिन्तन (2011), दीपक पन्थको मन्थन (2012), हरि बस्नेतको सनातन हिन्दू धर्म संस्कृति (2014) यस दिशाका महत्वपूर्ण कृतिहरु हुन्।

निष्कर्ष

 

                साहित्य कुनै पनि देश या स्थानको सामाजिक, आर्थिक, राजनैतिक र धार्मिक परिस्थितिको उपज हुन्छ। यिनै चारवटा तत्वहरूबाट प्रेरित भएर लेखक, रचनाकार आफ्नो भावलाई मूर्तरूप दिन लेखनीसँग खेल्न थाल्छ। सन् 1893 बाट शुरू भएको मणिपुरेली नेपाली साहित्यले समयको चोलासँगै आफ्ना धेरै स्वरूपहरू फेरिसकेको छ।     मणिपुरेली नेपाली जनजीवन कसरी मणिपुरमा बस्यो भन्ने कुराको तथ्यात्मक प्रमाणहरू प्राप्त भए पनि स्थानीय मानसिकताले सँधै यस जातिलाई शङ्काकै नजरले हेरेको देखिन्छ। विदेशीको नामले कैयौं पटक यो जाति सताइएको छ। सन् 1980 मा पुखाउ प्रान्तमा नेपालीका घरहरू आगो लाएर होस्, इनर लाइन पर्मिटको नाममा होस, टुप्पी खजानाको नाममा या अन्य सताउने गतिविधिका कारणले यहाँको गोर्खाली /नेपाली जनजीवनले ठाड़ो सिर गरि फस्टाउने मौका पाएकै छैन्। यसैले यहाँको नेपाली साहित्यमा यिनै विविध परिस्थितिहरूको झलकहरू देखा परेका छन्।

                विभिन्न परिस्थितिको चपेटमा परेपनि मणिपुरेली नेपाली साहित्य आफ्नै गतिमा गतिमान छ। पुरस्कारका ठेलीहरू प्राप्त गर्न नसकेता पनि आफ्नै लघुतामा यहाँका रचनाकारहरू खुशी छन्, यहि नै सन्तोषको कुरा हो। यसरी नै समयको क्रममा मणिपुरेली नेपाली साहित्यको बोट अझ झाँगिदै जानेछ भन्ने दृढ़ विश्वास राख्न सकिन्छ।

मणिपुरमा गोर्खाली जातिलाई संख्यात्मक हिसाबले हेर्दा यहाँको साहित्यिक गतिविधि सन्तोषजनक मान्नुपर्दछ। यो उत्तर पूर्वांचल राज्यमा मेघालय र असमपछि दोस्रो नेपाली साहित्यिक गतिविधि चलाउन सफल प्रदेश हो। रोजगारको कमी, क्षेत्रियताको प्रताड़नाले यहाँका प्रतिभा पलायन हुने क्रम चल्दा पनि साहित्यको चासो जीवित रहनु आफैंमा एउटा गौरवको कुरा हो।

 

                     ............................................................................................................

 

सन्दर्भ ग्रन्थ सूची

काव्यग्रन्थ

1.            आँखिझ्यालबाट हेर्दा - भीमकान्त उपाध्याय - नेपाली सहकारी लेखक समिति, सिलगढ़ी, 1994

2.     देवकोटै देवकोटा - ड. चन्द्रेश्वर दूबे, ज्योति प्रकाशन, इम्फाल, 1991

3.            नेपाली भाषा र संस्कृति - डा. गोमा अधिकारी, गोर्खा ज्योति प्रकाशन, कौब्रुलैखा, 2012

4.            भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहास - डा. गोमा दे.शर्मा, पी.एच.डी. शोधग्रन्थ, 2009

5.            मणिपुरमा नेपाली जनजीवन - मुक्ति गौतम, नेसाप मणिपुर, 1999

6.            साठोत्तरी हिन्दी और भारतीय नेपाली कविता का तुलनात्मक अध्ययन - ड. सीताराम अधिकारी, पी.एच. डी. शोधग्रन्थ, 2008

7-    The Truth about Gorkhas in Manipur - Shri Ran Bahadur Chapagain,The Sangai Express Manipur (April 3, 2011)

8.    The Gorkhas of Manipur  -  Ghanashyam Acharya, Gorkha Welfare Union, Manipur, 1999

 

उपरोक्त ग्रन्थका साथै समस्त विधागत अध्ययन गर्दा अन्य पुस्तकहरू र पत्र-पत्रिकाको अध्ययन पनि गरियो जसको नामोल्लेख गर्न यहाँ सम्भव छैन।

 

 

कोई टिप्पणी नहीं: