06 सितंबर, 2020

 

  संगोष्ठी पत्र

मणिपुरेली नेपाली कथा साहित्यको विकासक्रम

प्रस्तुत कर्ता- डा. गोमा देवी शर्मा                        

                                      

 

सारांश - यस कार्यपत्रमा नेपाली गद्याख्यान परम्परामा मणिपुरेली नेपाली कथा साहित्यको प्रारम्भ, विकास र वर्तमान स्थिति बारे चर्चा गरिएको छ र यस विधालाई दिशा दिने रचनाकारहरूको परिचय पनि प्रदान गरिएको छ।

 

उद्देश्य - भौगोलिक स्थितिले गर्दा बृहत् नेपाली साहित्यिक माहौलबाट मणिपुर अलि टाढै रहेको छ। विभिन्न परिस्थितिहरूको चपेटमा परे तापनि यहाँ नेपाली साहित्य आफ्नै गतिमा हिँड़ेको देखिन्छ। यस क्षेत्रमा रचिएको कथा साहित्यलाई समग्र नेपाली साहित्य जगत सामु ल्याउने प्रयास गर्नु यस कार्यपत्रको मुख्य उद्देश्य हो।

 

विषयप्रवेश- समग्र नेपाली गद्याख्यानको प्रारम्भ गोर्खापत्र काठमाडौंबाट सन् 1901मा भएको हो भन्ने विद्वानहरूको भनाई छ। तर पनि नेपाली गद्याख्यान खेल्ने मूल थलो भने बनारस, भारत हो। सुन्दरी, माधवी, जन्मभूमि, चन्द्र, चन्द्रिका जस्ता पत्रिकाहरूले यस विधालाई फक्रिनमा ठूलो टेवा पुर्याएका छन्। शुद्ध भारतीय नेपाली साहित्यको सन्दर्भमा हेर्ने हो भने पादरी गङ्गाप्रसाद प्रधान सम्पादित पत्रिका गोर्खे खबर कागतमा प्रकाशित मुन्सीका तीन आहानहरू प्रथम कथाको रूपमा देखा पर्दछन्।

सन् 1893 मा मणिपुरको लडाईको सवाईबाट थालनी भएको पूर्वोत्तर भारतीय नेपाली साहित्य जगतमा सन् 1937 मा गोर्खा सेवकमा प्रकाशित रामप्रसाद ज्ञवालीको कलङ्क कथा प्रथम मौलिक कथाको रूपमा देखा पर्दछ। यसपछि समय र परिस्थिति अनुसार पूर्वोत्तर भारतीय नेपाली कथा साहित्यमा विभिन्न प्रयोग र वादहरूको प्रभाव परेको देखन्छ। यसरी समयसँगै यस क्षेत्रमा कथा साहित्य फस्टाएर गएको देखिन्छ।

मणिपुरमा पनि समय र परिस्थति अनुसार साहित्य सृजनाको कार्य लेखकहरूले गर्दे आइरहेका छन्। जस्मा कथा साहित्य भने सन् सत्तरको दशकमा सन्देश, बिरूआ, बेला र नेती जस्ता पत्रिकाहरूमा देखा पर्दछ। वर्तमानमा आएर गोर्खाज्योति पत्रिकाले पनि नेपाली कथाख्यानको विकासमा धेरै योगदान पुऱ्याएको देखिन्छ। अहिले सम्मको शोध अनुसार यस क्षेत्रको पहिलो प्रकाशित कथा सङ्ग्रहको रूपमा सन् 1999 मा प्रकाशित आशारानी राईको कथा सङ्ग्रह यम द्वितीयालाई पाउँछौं। यस क्षेत्रबाट अहिलेसम्म प्रकाशित कथा रचना र रचनाकारहरूको परिचय तल प्रदान गरिने छ।

आशारानी राई             

आशारानी राईको जन्म सन् 1935मा माराम राईबस्ती, मणिपुरमा भएको थियो। बी. ए.सम्म शिक्षा हासिल गरेपछि यिनले असम राइफल्स स्कूलमा अध्यापन गर्न थालिन। विभिन्न सामाजिक कार्यमा संलग्न रहेर यिनले नेपाली भाषा आन्दोलनमा मणिपुर प्रान्तमा विशेष भूमिका निभाइन्। यिनी अखिल भारतीय नेपाली भाषा समितिकी केन्द्रीय उपाध्यक्षा, मणिपुर राज्य नेपाली भाषा समितिकी अध्यक्षा, मणिपुर नेपाली महिला सङ्घकी संचालिका, मणिपुर नेपाली छात्र सङ्घकी सल्लाहकार आदि सामाजिक कार्यक्षेत्रमा आजीवन सेवा गरिन्। सन् 2006 मा न्यू चेकोन इम्फालमा यिनको निधन भयो।

आशारानी राईको प्रथम निबन्ध रचना चराहरूको विराट सभा सन्देश पत्रिकामा प्रकाशित भयो। यो एउटा व्यङ्ग्यात्मक अभिव्यक्तिमूलक निबन्ध थियो। यसको माध्यमबाट आशारानी राई साहित्य जगतमा देखापरेकी हुन्। यो नारी अस्मितालाई लिएर देखापरेको पहिलो रचना थियो। यसको माध्यमबाट यिनले नारी अधिकारको निम्ति एउटा सङ्घर्षको शङ्खघोष गरेकी थिइन। सन् 1968 तिर भएको गोर्खा सुधारक सङ्घ,मणिपुरको वार्षिक अधिवेशनमा कुनै महानुभावले नारीको बुद्धि सारै छोटो हुन्छ भनि टीका टिप्पणी गरेको हुँदा यिनले यसको व्यापक जवाबका निम्ति यो व्यङ्ग्यलेख लेखेकी थिइन। यिनका रचनाहरू सन् 1966 पछि धेरै पत्र-पत्रिकाहरूमा प्रकाशित हुन लागे। यिनको कथाकृति यम द्वितीया सन् 1999 मा प्रकाशित भयो। यो कृति प्रारम्भिककालीन मणिपुरेली नेपाली कथा साहित्यको विकासमा महत्वपूर्ण स्थानमा ओगट्दछ। यो मणिपुर प्रान्तबाट निस्किएको पहिलो नेपाली कथाकृति हो। यस कृतिमा सङ्कलित कथाहरूमा नारी जीवनका समस्या, सहनशीलता, त्याग, अगाध पतिभक्तिको दर्शन हुनका साथै पुरुष जातिको दम्भ, हठी र स्वेच्छाचारी प्रवृत्तिमाथि प्रहार गरिएको छ। स्त्री-पुरुष सम्बन्धको वैषम्य यिनका कथाको मूल स्वर हो। समाजमा व्याप्त अन्धविश्वास र जातिगत भेदभावको विरोध, समाज सुधारको भावनाका साथसाथै आदर्शको स्थापनाको प्रवृत्ति पनि यी कथाहरूमा देखिन्छ। आशारानी राईका कथाहरूमा आञ्चलिकताको गुण विद्यमान हुनका साथै सरल र सुबोध्य नेपाली भाषाको आस्वाद पाठकहरूले गर्न पाँउछन्।

 

पदमबहादुर राई ओल्ड ब्वाय

पदमबहादुर राई ओल्ड ब्वाय लामो अन्तरालसम्म मणिपुरेली नेपाली कथा साहित्य मात्रै पत्र-पत्रिकाहरूमा सीमित भएर रहेको बेला सिमाना कथा सङ्ग्रह प्रकाशित गरि यसलाई अघि बढाउने महान कार्य गरे। उनको यो कथाकृति सन् 2007 मा उनकै छोरी डा. पुष्पा राईको प्रकाशकत्वमा प्रकाशित भयो। उनको यो कृति कथाहरूको छुट्टै भावभूमि लिएर देखा पर्दछ। यसमा लेखकका चिर सञ्चित अनुभवहरूको छुट्टै नौलोपनको स्वाद पाठकहरूले प्राप्त गर्ने सौभाग्य पाएका छन्। यसमा सीमाना, निर्णय, संयोग, बिछोड़ र हैकम लगायत पाँच कथाहरू सङ्कलित छन्। सामाजिक विषय र सैनिक जीवनका कतिपय यथार्थहरूका विविध पक्षहरूको उद्घाटन यस कृतिमा सङ्ग्रहित कथाहरूमा भएको पाइन्छ।

सीमाना कथा सामाजिक विषयमा आधारित छ। यसको मुख्य पात्र सत्यनारायण निष्काम साहित्य एवं समाज सेवी हो। तर सुकमान भन्ने पात्रले उसलाई बदनाम गर्ने प्रयास गर्छ। यसको कथावस्तु हाम्रा आँखा वरिपरि घटेका घटनाहरूसँग मेल खान्छ।

निर्णय खूबै मार्मिक कथा हो। यो कथा द्वितीय विश्वयुद्धको पृष्ठभूमिमा लेखिएको छ। भक्तबहादुर नामक सैनिक यस युद्धमा गोला बारूद चलेको बेला लापता हुन्छ। खोज तलाशी गर्दा उसको पत्तो लाग्दैन। उता भक्तबहादुरकी श्रीमत लामो समयसम्म पति फर्कनेबाटो हेर्छे तर उ नफर्किंदा अरूहरूको आज्ञा बमोजिम अर्को सैनिक सुर्यबहादुरसँग बिहा गर्न बाध्य हुन्छे। धनमाया गभवर्ती हुन्छे त्यस अवस्थामा भक्तबहादुर नरकङ्काल जस्तो भएर फर्किन्छ। त्यहाँ नारी जीवनको मार्मिकताको उद्घाटन खूबै कलात्मक ढङ्गले भएको छ।

हैकम कथामा नेपालीपनलाई प्राथमिकता दिइएको छ। बड़ा दशैंको रमझमबाट शुरूहुने यस कथामा गोर्खे जातिको बड़ा दशैंको पारम्परिक महत्वलाई दर्शाइएको छ। यसका साथै आफ्नो व्यक्तिगत स्वार्थकालागि हाम्रा समाजका नेताहरूले आफ्नो नाम र काम रक्सी र मासुमा कसरी बदनाम गरेर अकर्मण्यताको खास्टो ओड़ेर हिँड़छन् भन्ने कुरा पात्र नरेन्द्रको चरित्रबाट थाहा लाग्छ।

बिछोड़ प्रेममा आधारित कथा हो। एउटा सैनिक र एउटी तरूणीमाझ प्रेम हुनु, सैनिकको पोस्टिङ् जम्मू कश्मीरमा हुनु, दुवैको बीचमा धन र गरीबी पर्खाल बनि आउनु र प्रेमिकाले प्रेमीका लागि आत्महत्या गर्नु कथाको मार्मिक पक्ष हो। संयोग कथामा मानिसले गाँस छोड़नु साथ नछोड़नु भन्ने कुरा झल्किएको पाठकले देख्न पाउँछन्।

सन् 2000 पछाड़िका वर्षहरू मणिपुरेली नेपाली कथा साहित्यका निम्ति एउटा सुनौलो समय बनेर देखा पर्दछन्। छोटा कथालेखनमा कालापहाड़ निवासी मुक्ति गौतम पत्र-पत्रिका मार्फत पहिलोपल्ट देखा पर्छन्। पिकनिक पार्टी, बीँड़ीको तलतल, सम्पर्कभाषा, समाधान, मन्तरेको मिनिङ्, कालापहाड़ जानुछ आदि साना कथाहरू गोर्खा ज्योति, हाम्रोध्वनि र सपरिवार जस्ता स्तरीय पत्रिकाहरूमा प्रकाशित भए। छोटाकथा लेखन परम्पराको जग मुक्ति गौतमले बसालेता पनि यस क्षेत्रमा काङ्गलातोंग्बी निवासी देवीथापा मामा प्रकाशित कथा सङ्ग्रहरू लिएर मणिपुरेली नेपाली साहित्य जगतमा देखा परेका छन्।

 

देवीथापा थापा मामा

देवीप्रसाद थापा मामा देवीप्रसाद सुँयल थापा मामा को जन्म थान्कान्फाई साइकुल मणिपुरमा भएको हो। साधारण कृषक परिवारमा जन्म लिएका भए पनि यिनले बी.ए. सम्मको शिक्षा प्राप्त गरेका छन्। हाल यिनी मणिपुर सरकारको शिक्षा विभाग अन्तर्गत सरकारी शिक्षकको रूपमा कार्यरत छन्। सानै उमेरदेखि साहित्यमा रुचि भएका मामा हालमा काङ्गलातोंग्बीमा बसोवास गर्छन्। यस ठाउँमा सरुवा भएपछि लेखन कार्यमा संलग्न भए। यी स्वेच्छाले गोमा शर्मा र सीताराम अधिकारीद्वारा सञ्चालित गोर्खा ज्योति प्रकाशनको सम्पर्कमा आए। यिनका प्रशस्त रचनाहरू गोर्खा ज्योति मासिकमा प्रकाशित भएपछि साहित्य लेखनतर्फ यिनको लेखनी अझ सक्रिय हुँदै गयो। यीनको जीवनमा युवा कवि, लेखक, समालोचक र कथाकार महेश पौड्यालको धेरै प्रभाव परेको बताउँछन्। यिनलाई मामा उपनाम दिने श्रेय पनि महेश पौड्याललाईनै जान्छ। यी यौटा अथक साहित्य कर्मी र प्रगतिशील कथाकार हुन्।

रचना - देवीप्रसाद थापा मामा का अहिलेसम्म प्रकाशित लघु कथाकृतिहरूमा आमा (2011), बाबा (2012), सासू (2013), माइती (2014) कथा सङ्ग्रह साथै कौब्रुको काखबाट कविता सङ्ग्रह (2014) प्रमुख छन्। इचे शर्मिला यिनको (2011) मा प्रकाशित मणिपुरी भाषामा लेखिएको कविता सङ्ग्रह हो।

केही कविताहरूको रचना गरे पनि साहित्य जगतमा देवीप्रसाद थापाको पहिचान मामा एउटा कुशल लघुकथाकारको रूपमा भएको पाइन्छ। यी लघुकथा लेख्नमा खप्पिस छन्। यिनका कथाहरू सामाजिकताको परिधिमा घुमेका देखिन्छन्। मणिपुरेली गोर्खाली/नेपाली समाजमा देखा पर्ने ससाना समस्यादेखि लिएर जटिल समस्याहरूलाई कथावस्तु बनाएर कलात्मक ढङ्गले पाठक सामु राख्नु यिनको ठूलो विशेषता हो। यिनका कथाहरूमा स्थानीयताको पुट देख्न पाइन्छ। मणिपुरको जनजीवनमा आइपर्ने घटनाहरूको सूक्ष्म विश्लेषण गरी सुन्दर ढङ्गले पाठकसामु पस्कन यिनी सिद्धहस्त छन्। यिनले आफ्ना कथाको माध्यमबाट स्थानीय विषयवस्तु र भोगाईलाई नेपाली जगतमा परिचय दिन सफल भएका छन्। यिनका कथाहरूमा मणिपुरी भाषाका शब्दहरू पनि देख्न प्रशस्त मात्रामा देख्न पाइन्छ तर यस्ता शब्दहरूले पाठकमा कुनै पनि अन्योलको स्थिति उब्जिएको आभास हुँदैन। जम्मै कथाहरू पाठकलाई एउटा नौलो अनुभव साथै आञ्चलिकताको आस्वाद दिन सफल छन्। पुराना रुढ़ि र अन्धविश्वास मानिने लोक विश्वासहरू जस्तै धामी, झाँक्री आदिलाई युगीन दृष्टिले पुनर्मूल्याङ्कन गरी कलात्मक पाराले कथाको माध्यमबाट राखेर पाठकलाई नवीन खुराक दिनु मामा का कथाको विशेषता हो। यिनको भाषा सरल र सरर बग्ने नेपाली भाषा हो त्यसैले आज यिनका कथा प्रत्येक स्तरका मानिसहरूमा प्रिय छन्। युगीन समस्याहरूको राम्रो चित्रण यिनका कथाहरूमा भएको छ।

देवी थापा मामाको कथा सङ्ग्रह आमा गोर्खा ज्योति प्रकाशनबाट सन् 2010 मा प्रकाशित भयो। यसमा सङ्कलित सबै कथाहरू मणिपुरेली नेपाली जनजीवनका विविध परिस्थितिलाई छर्लङ्ग्याउन सफल मात्रै भएनन्, लेखकलाई भारतेली नेपाली कथाको सृजकको रूपमा एउटा छुट्टै परिचय प्रदान पनि गर्न सफल भए।

अर्को क्रममा फेरि लघु कथाहरूका कुशल रचनाकारको रूपमा स्थापित हुन पुगेका देवी थापा मामा आफ्नो दोस्रो कृति बाबा कथा सङ्ग्रह लिएर 2012 मा देखा पर्छन्। यस सङ्ग्रहमा लेखकले कल्पनाको भावभूमि छाड़ेर मणिपुरेली नेपाली जनजीवनमा देखा परेका सामाजिक, राजनैतिक, व्यक्तिगत समस्याहरू, अन्धविश्वास आदि यथार्थ समस्याहरूलाई उत्कृष्ट कलात्मक ढङ्गले पस्किएका छन्। यस कृतिको अपार सफलता पछि देवी थापा मामा रचित अन्य दुई कथा कृतिहरू सासू (2013) माइती (2014) गोर्खा ज्योति प्रकाशनबाटै क्रमशः प्रकाशित भए। यी कृतिहरूमा सङ्कलित कथाहरूमा लेखकको परिपक्व सामाजिक अनुभव र बेजोड़ कथाशैलीको दर्शन पाठकले पाउँछन्। यसरी देवी थापा मामा मणिपुरेली नेपाली कथा साहित्यमा एउटा जाँगरिला र समस्त नेपाली कथा जगतमा एउटा कुशल कथाकारका रूपमा देखापरेका छन्।

महेश पौड्याल

15 फरवरी सन् 1982 मा जन्मिएका महेश पौड्यालले आफ्नो बाल्यकाल र युवावस्थाका दिन मणिपुरमा बिताए। यिनले मैट्रिक डिस्टिंक्सनमा उत्तीर्ण गरेपछि स्नातक स्तरमा पनि प्रथम श्रेणीमा प्रथम भएर धनमञ्जरी कलेज इम्फालबाट अङ्ग्रेजी साहित्यमा स्वर्ण पदकसँग बी.ए.उत्तीर्ण गरे। यसपछि यिनले अङ्ग्रेजीमा एम. ए. त्रिभुवन विश्वविद्यालयबाट स्वर्ण पदकसँग र एम.फिल पोखरा विश्वविद्यालयबाट उत्तीर्ण गरे। यिनको साहित्यिक यात्रा मणिपुरबाटै शुरु भयो। शुरुमा मणिपुरबाट अङ्ग्रेजीमा छापिने दैनिक समाचारपत्र द सङाइ एक्सप्रेसमा कविता र कथा छपाएर यिनले साहित्यिक रुझानलाई सार्वजनिक गरेका हुन्। यसै पत्रिकामा यिनको पहिलो कविता सन् 1994 मा छापियेको थियो। यिनको पहिलो नेपाली कविता उषाको नियति गोर्खा सुधारक सङ्घको अधिवेशन स्मारिकामा सन् 1999 मा छापियो। कविताबाट साहित्यमा छिरेका यिनले कवितालाई आंशिक रूपमा मात्रै निरन्तरता दिएर मूलतः कथा र समालोचनातिर आफूलाई डोऱ्याएको देखिन्छ।

मणिपुरमै रहँदा यिनका कथा र निबन्धहरू नेती, सङ्कल्प, सन्देश, हाम्रो ध्वनि र धड़कन जस्ता पत्रिकाहरूमा छापिन्थे। यसरी फुटकर रचनाबाटै आफ्नो साहित्य प्रतिको अनुराग देखाएका पौड्यालले सन् 2005 पछि आफ्नो साहित्य साधनाको थलो काठमाण्डौंलाई बनाए। पौड्यालको पहिलो कृति बाल उपन्यास अङ्ग्रेजी भाषामा सन् 2008 मा आएको थियो। त्यसपछि निरन्तर अन्य चारवटा उपन्यास लेखेर मौलिक नेपाली लेखनतिर लागे। पत्रपत्रिकामा फुटकर कथा, एकांकी, नियात्रा, र पुस्तक समीक्षा लेखिरहेका पौड्यालको सन् 1910मा अनामिक यात्री शीर्षकको कथाकृति छापियो। यस कृतिको बारेमा नेपाली कथाको इतिहासमा डा. लक्ष्मण गौतम र ज्ञानु अधिकारी भन्छन् -

अठारओटा कथाहरू सङ्ग्रहित यस कृतिभित्रका कथामा सिग्मण्ड फ्रायड, अल्फ्रेड एडलर, कार्ल गुस्ताभ, युङ्, ज्याक लकाँ आदि विश्व प्रसिद्ध मनोविश्लेषकहरूका मनोविश्लेषणका सिद्धान्तहरूको प्रयोग गरिएका कथा छन् र यिनै सिद्धान्तहरू द्वारा यिनका कथा व्याख्यातित छन्। पानीमुनीको जून, लौरो, अनामिक यात्री, कौब्रु आदि यस सङ्ग्रहका सशक्त कथाहरू हुन्। महेशका कथामा ग्रामीण तथा सहरिया दुवै परिवेशको चित्रण पाइन्छ र बढ़ी चरित्रप्रधान हुनु यिनका कथाको विशेषता हो। महेशका कथाको भाषा सरल भएर पनि प्रभावकारी देखिन्छ। (नेपाली कथाको इतिहास, पृ.245

पौड्यालको कथाकारितामाथि समालोचक बसन्त बस्नेतको टिप्पणी यस्तो छः

पौड्याल आख्यानको पछिल्लो, बढ़ी प्रयोगवादी देखिको अपारम्परिक धाराको बिरूद्धमा देखिन्छन्। उनी शास्त्रीय पद्धतिकै पक्षधर हुन्, तर देश काल र पात्र आधुनिक छन्। यो भन्न सकिन्छ, कि गुरूप्रसाद मैनाली र रमेश विकलको शास्त्रीय शैलीमा उनी नयाँ कलेवरका कथा लेख्छन्। भाषासँग खेल्नु उनको विशेषता हो। महेशले गरे जसरी थोरै कथाकारले आफ्ना पात्रहरूलाई पानामा सजिव उभ्याउन सक्छन्। (द काठमाण्डू पोष्ट) ६०

यस सङ्ग्रहको प्रकाशनपछि यिनी निरन्तर कथा लेखनमा लागिरहेका छन्। यिनका कथा उनी योगमाया भइन्त्यसपछि फुलेन गोदावरी 2012 मा र हुलाकी सन् 2013मा प्रकाशित कथाहरू हुन्। उनको किशोर उपन्यास तादी किनारको गीत 2015 मा प्रकाशित भएको हो। यस उपन्यासमा माझी समुदायमा प्रचलित बालबिवाह र यसले बाल मनोविज्ञानका पारेका नकारात्मक असरलाई विषयवस्तु बनाइएको छ। यो कृति गोविन्दबहादुर मल्ल गोठाले पुरस्कार जित्न सफल भएको छ।

दर्जनौं बालकथा अङ्ग्रेजीमा लेखे पनि नेपालीमा यिनको कथा सङ्ग्रह सपनाको पुल प्रज्ञान प्रकाशनले 2012 मा बाजारमा ल्याएको हो। यसमा बाल मनोविज्ञानमा आधारित डेड दर्जन जति कथा सङ्कलित छन्।

पौड्याल एकजना कुशल चलचित्र पटकथा लेखक पनि हुन्। उनले नै पटकथा लेखेको नेपाली कथानक चलचित्र वनफूल यसै वर्ष शैली थिएटर र जीवनसाथी फिल्म्सले काठमाडौंमा निर्माण गऱ्यो। चलचित्रका गीतकार पनि यी आफैँ हुन्। यस चलचित्रका गीत र अन्य गीत गरेका इनका एक दर्जनजति गीतहरू रिकोर्डमा छन्। राजेश पायल राई, सन्तोष लामा, सुनीति अधिकारी, अनिल शाही र प्रतिष्ठा अमात्यजस्ता कलाकारले उनका गीत गाएका छन्।

पौड्याल समालोचनामा पनि उत्तिकै सक्रिय छन्। सन् 2010मा यिनले कथाकार एवं कवि पुस्कर लोहनीको काव्यकारितामाथि यिनले समालोचनात्मक ग्रन्थ पुस्कर लोहनी सिजो सेक्स एण्ड वियोण्ड प्रकाशित गरे। डायस्पोरा फेसन (2010) भिसा न लागेको साहित्य (2011), नेपथ्यका सेलिब्रिटी (2012) अलमलमा बाल साहित्य (2012) ग्लोबमा नेपाली कवि, आगतमा नेपाली कविता : एक प्रस्तावना (2012) कवितामा नेपाल, एक प्रस्तावना (2014) आदि यिनका चर्चित समालोचना एवं लेखहरू हुन् जो विभिन्न पत्र पत्रिकाहरूमा प्रकाशित भएका छन्।

पौड्याल एक कुशल अनुवादक पनि हुन्। यिनले दर्जनौं नेपाली रचनाहरूको अङ्ग्रेजीमा अनुवाद गरिसकेका छन्। राजधानी दैनिकले 2012 मा पौड़ेल नेपालीबाट अङ्ग्रेजीमा सबैभन्दा बढी साहित्य अनुवाद गर्ने अनुवादक हुन् भनेर लेखेको थियो। यस्ता कृतिहरूमा द डान्सिङ् सोल अफ एभरेस्ट सन् 2011मा प्रकाशित भएको छ। यस कृतिमा नेपाली साहित्यका ख्यातिप्राप्त कविहरूका कविताहरूको अङ्ग्रेजीमा अनुवाद गरेका छन्। यस कृतिबारे अक्स्फोर्ड विश्वविद्यालयका प्रध्यापक माइमल हट लेख्छन्- नेपाली कविताको अङ्ग्रेजी अनुवादको यो उल्लेख्य सङ्ग्रह सायद आज सम्मकै सबैभन्दा महत्वपूर्ण अनुवाद ग्रन्थ हो, र यस प्रकल्पसँग सम्बन्धित सबै धन्यवादका पात्र हुन्।

महेश पौड्यालले सन् 2008 मा द गार्डेन भन्ने बाल पत्रिकाको सम्पादन गरे। यसै गरी सन् 2011 देखि निरन्तर केटाकेटी न्यूज मासिकको सम्पादन गरिरहेका छन्। यिनले धेरै रचनाकारहरूका रचनाको सम्पादन पनि गरेका छन्।

हाल पौड्याल त्रिभूवन विश्वविद्यालयको अङ्ग्रेजी विभागमा प्राध्यापन गर्छन्। यिनले नेपालका राष्ट्रपतिबाट नेपाल विद्याभूषण पाउनका साथै त्रिभूवन विश्वविद्यालयबाट आचार्य नगेन्द्रमणि दीक्षित स्वर्णपदक पनि जितेका छन्। सन् २००८मा यिनलाई जमर्को बाल पत्रकारिता पुरस्कार प्रदान गरियो। यिनले आफ्ना लेख रचनाको पारिश्रमिक जम्मा गरेर वर्षेनी जेहेन्दार तर आर्थिक रूपले विपन्न बाल बालिकाहरूलाई प्रारम्भ बाल प्रतिभा पुरस्कार प्रदान गर्दै आएका छन्।

कुशल अनुवादकसमेत रहेका पौड्यालको मत छ, नेपाली साहित्यले विश्वसामु आफ्नो छुट्टै परिचय स्थापित गर्नका लागि मौलिक नेपाली ज्ञानकोषबाट आफ्ना विषयवस्तु र उपकरणहरू टिप्नु आवश्यक छ। यसका लागि नेपाली मिथक, लघुइतिहास, सामाजिक र राजनैतिक परिस्थिति, लोक जीवन आदि मौलिक नेपाली अनुभवका क्षेत्रहरूबाटै नेपाली साहित्य सिर्जित हुनु जरुरी छ। यसमा नेपाली भन्नाले विश्वभरि छरिएका नेपालीले बोकेको त्यो साझा नेपालीपन हो भन्ने उनको तर्क छ। कवितामा नेपाली मौलिकताको आवश्यकताको वकालत गर्दै उनले 2012 देखि कवितामा नेपाल नामक एक काव्यिक अभियानको पनि नेतृत्व गरिरहेका छन्।

 

राहुल राई बोगीको

सन् 2011 मै युवा लेखक राहुल राई बोगीको मणिपुरेली नेपाली कथा क्षेत्रमा देखा पर्दछन्। उनको एक जोड़ी परेवा दसवटा कथाहरूको सङ्गालोको रूपमा देखा पर्दछ। यस अन्तर्गत मणिपुरको परिवेशमा जन्मेका कथाहरू सहज र सरल शैलीमा पाठक सामु देखापरेका छन्। सामाजिक जीवनका अनुभवहरू, भातृप्रेम, आतङ्कको चपेटमा मर्नु पर्ने बाध्यता, लावारिश लाश विषयलाई लेखक पाठक सामु राम्रोसँग राख्न सफल देखिन्छन्।

व्यक्तिगत जीवनका धेरै विषमताहरूमाथि एउटा अजेयी योद्धाझैं विजय हासिल गरेका राई भित्र रहेको गहिरो साहित्य प्रेमको मापन गर्न सकिँदैन। धेरै सङ्घ -संस्थाहरूमा योगदान दिएर एउटा निस्वार्थ समाज सेवकको रूपमा समाजमा आफ्नो पहिचान यिनले बनाएका छन् भने एउटा कविता सङ्ग्रह र दुईवटा कथा कृतिहरू प्रकाशामा ल्याएर आफ्नो साहित्यिक परिचय भारतेली नेपाली साहित्य जगतलाई दिन यिनी सफल भएका छन्।

मेरा अनुभूतिहरू (2014) राहुल राईको दोस्रो कथाकृति हो। प्रथम कथाकृति भन्दा मेरा अनुभूतिहरूमा लेखकको कलम खारिएको पाठकले अनुभव गर्ने छन्। अनुभूतिका पाईलाहरू, आशा, उनीले दिएको स्मृति, मुगलान पस्ने क्रममा सिन्दुरे दहाल, हाम्रो सुरक्षा हाम्रै हात, संयोग, मेरो आत्मकथा, डाक्टर हरि आदि कथाहरू आ-आफ्नै नौलोपन बोकेका छन्। प्रारम्भिक कथाहरूमा बढ़ी़ वर्णनात्मक शैलीको दर्शन पाइन्छ भने यस कृतिमा सम्वादात्मक शैलीको बढ़ी प्रयोगले कथाहरूमा रोचकता थपेको छ। यिनका कथाहरूले बढ़ी रूमानी भावुकता बोकेको देखिन्छ। राई मूल रूपमा रूमानी धाराका लेखक हुन्। यिका कथामा स्त्री पुरुष सम्बन्ध, रूमानी प्रेममा अड़िएका छन्। भाषिक पक्षलाई हेर्ने हो भने व्याकरणगत प्रयोगमा आंशिक न्यूनता देखा पर्दछ। सरल भाषाले कथामा सम्प्रेषणीयताको गुण थपेको छ। यसैले समस्त कथाहरू जनसामान्यले बुझ्ने भएका छन्।

हरिमोहन पोख्रेल

हरिमोहन पोख्रेलको जन्म 15 मार्च 1981 मा चारहजारे मणिपुरमा भएको थियो। माता मीनादेवी र पिता देवीप्रसाद पोख्रेलका जेठा पुत्र हरिमोहनले प्रसिडेन्सी कलेज मोटबुङ्बाट बी.ए. राष्ट्रभाषा हिन्दी रत्न र पत्रकारितामा प्रमाणपत्र हासिल गरे। यिनले पत्रकारितालाई नै आफ्नो सबै भन्दा मनपरेको पेशा बनाए। यिनी विचार, दून सम्वाद, कन्चनजङ्घा जस्ता पत्र-पत्रिकाहरूमा नियमित सम्वाददाताका रूपमा कार्यरत छन्। विचार, स्पन्दन, दूनसम्वाद, गोर्खा ज्योति, देशवार्ता, स्रष्टा, धड़कन, मन्जरी, उदय, प्रदीपिका, पूर्वाधार, रिनाक-पूर्व, र्मिमिरे आदि पत्र-पत्रिकामा लेख, कविता, समालोचना आदि यिनका दर्जनौं रचनाहरू प्रकाशित छन्।

हरिमोहन पोख्रेलको एकमात्र कथा सङ्कलन बगुल्लाको महासभा (2013) प्रकाशित छ। यस सङ्ग्रहमा 28वटा कथाहरू सङ्कलित छन्। धर्म प्रचारक, नया धामी, कर्मकाण्ड, हल्ला, मीडिया, रक्सी, दुष्टाहार, घुस, कुराकानी, टोल, प्रेरणा, मौन तपस्वी, बगुल्लाको महासभा, अधिकार, विदा, धर्म, नवरात्र, जाति, अङ्ग्रेजी टीचर आदि यसमा सङ्कलित कथाहरू हुन्। जम्मै कथाहरूले लेखक आफू स्वयंले देखे भोगेका सामाजिक तथ्यहरू बोकेका छन्। यसका पात्रहरू समाजमा देखा पर्ने दैनिक जीवन भोगीरहेका गाँउले मानिसहरू छन्। विभिन्न क्रियाकलापद्वारा सोझा जनताहरूलाई ठग्ने ठगीहरूको चरित्रको खुलासा पाठकले यी कथाहरूमा भएको पाइन्छ। तथाकथित धर्मका ठेकेदार, समाजसेवीको मुखौटा लाएर हिँड़ने नेता, ठालुहरूको चरित्रको खुलासा गर्नुका साथै सामाजिक कुरीतिमा प्रहार गर्नु यी कथाहरूको उद्देश्य हो। नेपाली समालोचक र इतिहासकार तानाशर्माको भनाई अनुसार -मेरो समालोचना फटाहाहरूलाई लाटो पारूञ्जेल पोल्ने सिस्नु हो भनेझैं पोख्रेलका कलम भित्र परेका पात्रहरू पनि पाठकको हृदयलाई चसक्क छेड़नमा सफल छन्।

......................................................................................

 

सन्दर्भ

1.     आख्यान अनुशीलन-नवीन पौड्याल, ओरियन प्रेस इन्टरनेशनल,चन्दननगर, 2011

2.     भारतीय नेपाली साहित्य को विश्लेषणात्मक इतिहास – डा. गोमा दे. शर्मा, गोर्खा ज्योति प्रकाशन,2017

3,     असमेली नेपाली कथायात्रा-सम्पादक -ड.शान्ति थापा, ने. सा. प. असम,2008

4.     मणिपुरमा नेपाली साहित्यःएक अध्ययन-ड.गोमा दे. शर्मा (अधिकारी)-गोर्खाज्योति प्रकाशन मणिपुर, 2016

 

कोई टिप्पणी नहीं: