31 मई, 2021

मणिपुरमा नेपाली कथा साहित्यको विकासक्रम

                                          मणिपुरमा नेपाली कथा साहित्यको विकासक्रम



                                                                                                                         

                                                      डा. गोमा देवी शर्मा (अधिकारी)

                                                           सातगाँउ, गुवाहाटी

        सन् 1893 मा मणिपुरको लडाईको सवाईबाट शुरु भएको पूर्वोत्तर भारतको नेपाली साहित्यले  भारतेली नेपाली साहित्य साथै समग्र नेपाली साहित्यको विकासमा ठूलो भूमिका खेलेको छ। सन् 1937 मा गोर्खा सेवकमा प्रकाशित रामप्रसाद ज्ञवालीको कलङ्क कथालाई विद्वानहरूले यस क्षेत्रको प्रथम मौलिक कथा मानेका छन्। पूर्वोत्तर भारतमा कथासाहित्य विकास गर्नमा शिलाङबाट मणिसिंह गुरूङको सम्पादनमा प्रकाशित हुने गोर्खा सेवक (1936) पत्रिकाकाको ठूलो भूमिका रहेको छ। यसपछि समय र परिस्थिति अनुसार यस भेकबाट निस्किएको नेपाली कथा साहित्यले निरन्तर विकासका पाइलाहरू अँगालेको देखिन्छ। यसरी समयसँगै यस क्षेत्रको नेपाली कथा साहित्य आफ्नै गतिमा फस्टाएर गएको देखिन्छ।

पूर्वोत्तर भारतमा नेपाली साहित्यको बिउ रोप्ने मणिपुरले विभिन्न विधामार्फत नेपाली साहित्यको विकासमा योगदान पुऱ्याउँदै आएको छ। पद्य साहित्यबाट थालनी भएको यस भेकमा कथा साहित्य निक्कै पछि शुरु भएको थाहा लाग्छ। यसको बिउ सन् सत्तरको दशकमा सन्देश, बिरूआ, बेला जस्ता पत्रिकाहरूमा छरिएको देखिन्छ। संकल्प, नेती, नारद गंगा, गोर्खाज्योति, सिरोई सिर्जना जस्ता पत्रिकाहरूले पनि नेपाली कथाख्यानको विकासमा ठूलो योगदान पुऱ्याएको देखिन्छ।

अहिलेसम्मको शोध अनुसार यस क्षेत्रको पहिलो प्रकाशित कथा सङ्ग्रहको रूपमा सन् 1999 मा प्रकाशित आशारानी राई दिदिको कथा सङ्ग्रह यम द्वितीयालाई पाउँछौं। यसपछि थुप्रै कलमकारहरूले यस विधामा कलम चलाएको देखिन्छ। कतिपय रचनाहरू पत्र-पत्रिकामा मात्रै सीमित भए तापनि कतिपय कलमकारहरू यस क्षेत्रमा आफ्नो दखल कायम गर्न सफल भएका छन्। कृतिको रूपमा रचनाहरू ढिलोछिटो प्रकाशित भए तापनि यहाँ कथाकारहरूको जन्ममिति क्रमको आधारमा परिचय प्रदान गर्ने प्रयास गरिएको छ-

1. पदमबहादुर राई ओल्ड ब्वाय

पदमबहादुर राई ओल्ड ब्वायको जन्म 5 अगस्त 1930 मा मणिपुरको तमेङलोङमा भएको थियो। यिनकी माताको नाम बुद्धिमाया राई र पिताको नाम दलभञ्जन राई थियो। बी.कमसम्म शिक्षा प्राप्त गरेका यिनी लामो समयसम्म भूटान अधिराज्यमा अन्डर सेक्रेटरीको रूपमा कार्यरत थिए। यिनी लामो समयसम्म नेपाली साहित्य सदन काङ्लातोंग्बी र नेपाली राइटर्स फोरमसँग संलग्न थिए। यिनले संकल्प साथै मञ्जरी जस्ता पत्रिकाको सम्पादन गरे। यिनी धेरै राम्रा गीतकार र भजन रचनाकार पनि थिए। साहित्यक सेवाका लागि यिनलाई अरूगी साहित्यिक संस्था दार्जिलिङले अरूगी पुरस्कारले सम्मानित गऱ्यो।

पदमबहादुर राई ओल्ड ब्वाय लामो अन्तरालसम्म मणिपुरेली नेपाली कथा साहित्य मात्रै पत्र-पत्रिकाहरूमा सीमित भएर रहेको बेला सिमाना कथा सङ्ग्रह प्रकाशित गरि यसलाई अघि बढाउने महान कार्य गरे। उनको यो कथाकृति सन् 2007 मा उनकै छोरी डा. पुष्पा राईको प्रकाशकत्वमा प्रकाशित भयो। उनको यो कृति कथाहरूको छुट्टै भावभूमि लिएर देखा पर्दछ। यसमा लेखकका चिर सञ्चित अनुभवहरूको छुट्टै र नौलो स्वाद पाठकहरूले प्राप्त गर्ने सौभाग्य पाए। यसमा सीमाना, निर्णय, संयोग, बिछोड़ र हैकम लगायत पाँच कथाहरू सङ्कलित छन्। सामाजिक विषय र सैनिक जीवनका कतिपय यथार्थहरूका विविध पक्षहरूको उद्घाटन यस कृतिमा सङ्ग्रहित कथाहरूमा भएको पाइन्छ।

सीमाना कथा सामाजिक विषयमा आधारित छ। निर्णय दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा लेखिएको खूबै मार्मिक कथा हो। यसमा नारी जीवनको मार्मिकताको उद्घाटन खूबै कलात्मक ढङ्गले भएको छ।

हैकममा आफ्नो व्यक्तिगत स्वार्थकालागि हाम्रा समाजका नेताहरूले कसरी आफ्नो नाम र काम रक्सी र मासुमा डुबाएर अकर्मण्यताको खास्टो ओड़ेर हिँड़छन् भन्ने कुरा खुलस्त भएको छ भने बिछोड़ प्रेममा आधारित दुखान्त कथा हो। संयोग कथामा मानिसले गाँस छोड़नु साथ नछोड़नु भन्ने कुरा झल्किएको पाठकले देख्न पाउँछन्।

 

2. आशारानी राई                 

आशारानी राईको जन्म सन् 1935 मा माराम राईबस्ती, मणिपुरमा भएको थियो। बी. ए.सम्म शिक्षा हासिल गरेपछि यिनले असम राइफल्स स्कूलमा अध्यापन गर्न थालिन। विभिन्न सामाजिक कार्यमा संलग्न रहेर यिनले नेपाली भाषा आन्दोलनमा मणिपुर प्रान्तमा विशेष भूमिका निभाइन्। यिनी अखिल भारतीय नेपाली भाषा समितिकी केन्द्रीय उपाध्यक्षा, मणिपुर राज्य नेपाली भाषा समितिकी अध्यक्षा, मणिपुर नेपाली महिला सङ्घकी सञ्चालिका, मणिपुर नेपाली छात्र सङ्घकी सल्लाहकार जस्ता सामाजिक कार्यक्षेत्रमा आजीवन सेवा गर्ने व्यक्तित्व हुन्। सन् 2006 मा न्यू चेकोन इम्फालमा यिनको निधन भयो।

आशारानी राईको पहिलो रचना चराहरूको विराट सभा सन्देश पत्रिकामा प्रकाशित भयो। यो एउटा व्यङ्ग्यात्मक अभिव्यक्तिमूलक निबन्ध थियो। यसको माध्यमबाट आशारानी राई साहित्य जगतमा देखापरेकी हुन्। यो नारी अस्मितालाई लिएर देखापरेको पहिलो रचना थियो। यसको माध्यमबाट यिनले नारी अधिकारको निम्ति एउटा सङ्घर्षको शङ्खघोष गरेकी थिइन। सन् 1968 तिर भएको गोर्खा सुधारक सङ्घ, मणिपुरको वार्षिक अधिवेशनमा कुनै महानुभावले नारीको बुद्धि सारै छोटो हुन्छ भनि टीका टिप्पणी गरेको हुँदा यिनले यसको व्यापक जवाबका निम्ति यो व्यङ्ग्यलेख लेखेकी थिइन। यिनका रचनाहरू सन् 1966 पछि धेरै पत्र-पत्रिकाहरूमा प्रकाशित हुन लागे। यिनको कथाकृति यम द्वितीया सन् 1999 मा प्रकाशित भयो। यो मणिपुरेली नेपाली साहित्यमा पुस्तक रूपमा प्रकाशित भएको पहिलो कथा सङ्ग्रह हो। यसमा सङ्कलित कथाहरूमा नारी जीवनका समस्या, सहनशीलता, त्याग, अगाध पतिभक्ति जस्ता विषय समावेश गर्नका साथै पुरुष जातिको दम्भी, हठी र स्वेच्छाचारी प्रवृत्तिमाथि व्यङ्ग्य प्रहार गरिएको छ। स्त्री-पुरुष सम्बन्धको वैषम्य र लिङ्गगत भेदभाव यिनका कथाको मूल स्वर हो। समाजमा व्याप्त अन्धविश्वास र जातिगत भेदभावको विरोध, समाज सुधारको भावनाका साथै आदर्शको स्थापना जस्ता अन्य प्रवृत्तिहरू पनि यी कथाहरूमा पाइन्छन्। आशारानी राईका कथाहरूमा आञ्चलिकताको छाप र सरल, सहज र बोधगम्य नेपाली भाषाको आस्वाद पाठकहरूले पाउँछन्।

3. सीतादेवी छेत्री

                सीतादेवी छेत्री को जन्म 5 मई 1961 मा माता स्व. तारादेवी लामिछाने एवं पिता स्व. गोपाल लामिछाने की पुत्री को रूपमा मणिपुरमा भएको हो। बी.ए. सम्म शिक्षित सीतादेवी पेशाले मणिपुर सरकार अधीनिस्थ एउटी सरकारी शिक्षक हुन्। यिनी नेपाली साहित्य परिषद, मणिपुर, काङ्गलातोंग्बी महिला समिति, भारतीय गोर्खा परिसङ्घ, एकल अभियान महिला विभाग जस्ता सङ्गठनहरूमा आबद्ध रहेर  सामाजिक-साहित्यिक सेवामा संलग्न छिन्। ढिलोगरि साहित्य क्षेत्रमा प्रवेश गर्ने सीतादेवी छेत्री का अहिलेसम्म दुइटा पुस्तक प्रकाशित भएका छन्।

कृतिहरू - एउटै धरामा (कविता संग्रह,2017) और मूल परेको छोरो (कथा सङ्ग्रह, 2018), चर्किएको मन (2021)

                मूलपरेको छोरो कथा सङ्ग्रहमा दसवटा कथाहरू सङ्कलित छन्। त्याग, तपस्या, कर्तव्य परायणता, सामाजिक - पारिवारिक समस्याहरू, आञ्चलिकता, अन्धविश्वास र रुढ़िप्रति व्यङ्ग्य, नारी सम्वेदना, नारीको त्याग भावना, लिङ्गगत भेद-भाव, दाम्पत्य सम्बन्ध, दाइजो प्रथाका दुष्परिणाम जस्ता प्रवृत्तिहरू पाइऩ्छन्।  परम्परागत वर्णनात्मक शैलीमा लेखएका कथाहरू सबै वर्गका पाठकका लागि बोधगम्य छन्।

                सीतादेवी का कविताहरूमा सहज अभिव्यक्ति, नारी प्रताड़नाको विरोध, सामाजिक विसगति प्रति व्यङ्ग्य, प्रकृति सौन्दर्यको वर्णन, मातृभूमि प्रेम, गद्यात्मक अभिव्यक्ति जस्ता प्रवृत्तिहरू पाइन्छन्।

                साहित्यमा योगदान पुऱ्याए बापत सीतादेवी क्षेत्रीलाई नेपाली साहित्य परिषद मणिपुर द्वारा सोमलक्ष्मी राई पुरस्कारका साथै नेपाल अकादमी एवं जरा फाउन्डेशन, नेपाली साहित्य सभा असम, रटन अभियान सिक्किम, दमक कला साहित्य महोत्सव जस्ता साहित्यिक संस्थाहरूबाट सम्मान प्राप्त गरिसकेकी छिन्।

4. देवीथापा थापा मामा

देवीप्रसाद थापा मामा को जन्म थान्कान्फाई साइकुल मणिपुरमा भएको हो। साधारण कृषक परिवारमा जन्मलिएका भएपनि यिनले बी.ए. सम्मको शिक्षा प्राप्त गरे। हाल यिनी मणिपुर सरकारको शिक्षा विभाग अन्तर्गत सरकारी शिक्षकको रूपमा कार्यरत छन्। सानै उमेरदेखि साहित्यमा रुचि भएका मामा हालमा काङ्गलातोंग्बीमा बसोवास गर्छन्। यस ठाउँमा सरुवा भएपछि लेखन कार्यमा संलग्न भए। यिनका प्रशस्त रचनाहरू गोर्खा ज्योति मासिकमा प्रकाशित भएपछि साहित्य लेखनतर्फ यिनको रूझान अझ सक्रिय हुँदै गयो।

कृतिहरू - देवीप्रसाद थापा मामाका अहिलेसम्म प्रकाशित लघु कथाकृतिहरूमा आमा (2011), बाबा (2012), सासू (2013), माइती (2014) कथा सङ्ग्रह साथै कौब्रुको काखबाट कविता सङ्ग्रह (2014) प्रमुख छन्। इचे शर्मिला यिनको (2011) मणिपुरी भाषामा लेखिएको कविता सङ्ग्रह हो।

देवीप्रसाद थापा मामाका कथाहरू सामाजिकताको परिधिमा घुमेका देखिन्छन्। मणिपुरेली गोर्खाली/नेपाली समाजमा देखा पर्ने ससाना साथै जटिल समस्याहरूलाई कथावस्तु बनाई कलात्मक ढङ्गले पाठक सामु राख्नु यिनको ठूलो विशेषता हो। यिनका कथाहरूमा स्थानीयताको रङ्ग देख्न पाइन्छ। यिनका कथाहरूमा मणिपुरी भाषाका शब्दहरू पनि देख्न प्रशस्त मात्रामा देख्न पाइन्छ तर यस्ता शब्दहरूले पाठकमा कुनै पनि अन्योलको स्थिति उब्जिएको आभास हुँदैन। जम्मै कथाहरू पाठकलाई एउटा नौलो अनुभव साथै आञ्चलिकताको आस्वाद दिन सफल छन्। पुराना रुढ़ि र अन्धविश्वास मानिने लोक विश्वासहरू जस्तै धामी, झाँक्री आदिलाई युगीन दृष्टिले पुनर्मूल्याङ्कन गरी कलात्मक पाराले कथाको माध्यमबाट राखेर पाठकलाई नवीन खुराक दिनु मामा का कथाको विशेषता हो। युगीन समस्याहरूको राम्रो चित्रण यिनका कथाहरूमा भएको छ।

5. महेश पौड्याल

         15 फरवरी सन् 1982 मा जन्मिएका महेश पौड्यालले आफ्नो बाल्यकाल र युवावस्थाका दिन मणिपुरमा बिताए। यिनले मैट्रिक डिस्टिंक्सनमा उत्तीर्ण गरेपछि स्नातक स्तरमा पनि प्रथम श्रेणीमा प्रथम भएर धनमञ्जरी कलेज इम्फालबाट अङ्ग्रेजी साहित्यमा स्वर्ण पदकसँग बी.ए.उत्तीर्ण गरे। यसपछि यिनले अङ्ग्रेजीमा एम. ए. त्रिभुवन विश्वविद्यालयबाट स्वर्ण पदकसँग र एम.फिल पोखरा विश्वविद्यालयबाट उत्तीर्ण गरे। यिनको साहित्यिक यात्रा मणिपुरबाटै शुरु भयो। शुरुमा मणिपुरबाट अङ्ग्रेजीमा छापिने दैनिक समाचारपत्र सङाइ एक्सप्रेसमा कविता र कथा छपाएर यिनले साहित्यिक रुझानलाई सार्वजनिक गरेका हुन्। यिनको पहिलो नेपाली कविता उषाको नियति गोर्खा सुधारक सङ्घको अधिवेशन स्मारिकामा सन् 1999 मा छापियो। कविताबाट साहित्यमा प्रवेश गरेका महेशले कविता, कथा, नाटक, समालोचना, अनुवाद जस्ता बहु-विषयमा आफ्नो कलम सार्थक पारेका छन्। मणिपुरमै रहँदा यिनका कथा र निबन्धहरू नेती, सङ्कल्प, सन्देश, हाम्रो ध्वनि र धड़कन जस्ता पत्रिकाहरूमा छापिन्थे।

       यसरी फुटकर रचनाबाटै आफ्नो साहित्य प्रतिको अनुराग देखाएका पौड्यालको सन् 2005 पछि आफ्नो साहित्य साधनाको थलो काठमाण्डौंलाई बनाए। पौड्यालका दर्जनौं कृतिहरू प्रकाशित भइसकेका छन्। यिनले आफूलाई एउटा कुशल कथाकार, उपन्यासकार, नाटककार, समालोचक, वक्ता, चलचित्र पटकथा लेखक, गीतकार, अनुवादक र सम्पादकको रूपमा स्थापित गरिसकेका छन्। पौड्यालको सन् 1910 मा अनामिक यात्री शीर्षकको कथाकृति छापियो।

पानीमुनीको जून, लौरो, अनामिक यात्री, कौब्रु आदि यस सङ्ग्रहका सशक्त कथाहरू हुन्। महेशका कथामा ग्रामीण तथा शहरिया दुवै परिवेशको चित्रण पाइन्छ।  बढ़ी चरित्रप्रधान मानवतावादी दृष्टिकोण हुनु यिनका कथाको विशेषता हो। महेशका कथाको भाषा सरल र प्रभावकारी देखिन्छ।

      हाल पौड्याल त्रिभूवन विश्वविद्यालयको अङ्ग्रेजी विभागमा प्राध्यापन गर्छन्। यिनले नेपालका राष्ट्रपतिबाट नेपाल विद्याभूषण पाउनका साथै त्रिभुवन विश्वविद्यालयबाट आचार्य नगेन्द्रमणि दीक्षित स्वर्णपदक पनि जितेका छन्। यिनले जमर्को बाल पत्रकारिता पुरस्कार, गोठाले पाण्डुलिपि पुरस्कार, विमल गुरुङ स्मृति पुरस्कार, सुदिश निरौला साहित्य पुरस्कार, प्रसिद्ध कँडेल युवा साहित्य पुरस्कार, वनिताश्री पुरुषोत्तमराज पाण्डेय साहित्य पुरस्कार प्राप्त गरिसकेका छन्। यिनले आफ्ना लेख रचनाको पारिश्रमिक जम्मा गरेर वर्षेनी जेहेन्दार तर आर्थिक रूपले विपन्न बाल बालिकाहरूलाई प्रारम्भ बाल प्रतिभा पुरस्कार प्रदान गर्दै आएका छन्।

6. राहुल राई बोगीको

राहुल रार्इबोगीकोको जन्म स्व. सोमलक्क्षी रार्इ (माक्रीहाङ) र जङ्गबहादुर रार्इ (माक्रीहाङ)का सुपुत्रको रूपमा 1984 मा मणिपुरको इराङमा भएको हो। यिनको बाल्यकाल त्यतै बित्यो। पारिवारिक समस्याले गर्दा यिनी केही समयसम्म सिक्किममा रहे। यिनी ऐले काङ्ग्लातोंग्बी तीसपरीका निवासी हुन्। साहित्यिक र सामाजिक कार्यमा रुचि राख्ने राहुल रार्इका चारवटा कृतिहरू प्रकाशित भइसकेका छन्।

रचना - एक जोड़ी परेवा (कथा सङ्ग्रह 2011), एक मुठी कविताहरू (कविता सङ्ग्रह 2013) र मेरा अनुभूतिहरू (कथा सङ्ग्रह 2014), कालो अक्षर (कविता सङ्ग्रह)।

एक जोड़ी परेवा दसवटा कथाहरूको सङ्गालोको रूपमा देखा पर्दछ। यसको माध्मबाट लेखकले  मणिपुरको परिवेशमा जन्मेका कथाहरू सहज र सरल शैलीमा पाठक सामु पस्किएका छन्। जम्मै कथाहरूमा सामाजिक जीवनको अनुभव, भातृप्रेम, आतङ्कको चपेटमा मर्नु पर्ने बाध्यता, लावारिश लाश जस्ता विषयहरू समवेश गरेको पाइन्छ।

प्रथम कथाकृति भन्दा मेरा अनुभूतिहरूमा लेखकको कलम खारिएको पाठकले अनुभव गर्ने छन्। अनुभूतिका पाईलाहरू, आशा, उनीले दिएको स्मृति, मुगलान पस्ने क्रममा सिन्दुरे दहाल, हाम्रो सुरक्षा हाम्रै हात, संयोग, मेरो आत्मकथा, डाक्टर हरि आदि कथाहरू आ-आफ्नै नौलोपन बोकेका छन्। प्रारम्भिक कथाहरूमा बढ़ी़ वर्णनात्मक शैलीको दर्शन पाइन्छ भने यस कृतिमा सम्वादात्मक शैलीको बढ़ी प्रयोगले कथाहरूमा रोचकता थपेको छ। यिनका कथाहरूले बढ़ी रूमानी भावुकता बोकेको देखिन्छ। राई मूल रूपमा रूमानी धाराका लेखक हुन्। यिनका कथाहरूमा स्त्री पुरुष सम्बन्ध, रूमानी प्रेममा अड़िएका छन्। भाषिक पक्षलाई हेर्ने हो भने व्याकरणगत प्रयोगमा आंशिक न्यूनता देखा पर्दछ। सरल भाषाले कथामा सम्प्रेषणीयताको गुण थपेको छ। यसैले समस्त कथाहरू जनसामान्यले बुझ्ने भएका छन्।

7. हरिमोहन पोख्रेल

हरिमोहन पोख्रेलको जन्म 15 मार्च 1981 मा चारहजारे, मणिपुरमा भएको थियो। माता मीनादेवी र पिता देवीप्रसाद पोख्रेलका जेठा पुत्र हरिमोहनले प्रसिडेन्सी कलेज मोटबुङ्बाट बी.ए., राष्ट्रभाषा हिन्दी रत्न र पत्रकारितामा प्रमाणपत्र हासिल गरेका हुन्। यिनले पत्रकारितालाई नै आफ्नो सबै भन्दा मनपरेको पेशा बनाए। यिनी विचार, दून सम्वाद, कन्चनजङ्घा जस्ता पत्र-पत्रिकाहरूमा नियमित सम्वाददाताका रूपमा कार्यरत रहे। विचार, स्पन्दन, दूनसम्वाद, गोर्खा ज्योति, देशवार्ता, स्रष्टा, धड़कन, मन्जरी, उदय, प्रदीपिका, पूर्वाधार, रिनाक-पूर्व, र्मिमिरे आदि पत्र-पत्रिकामा लेख, कविता, समालोचना विधामा यिनका दर्जनौं रचनाहरू प्रकाशित छन्। यिनी नैनो कथा विधामा सामाजिक सञ्जालमा सक्रिय छन्।

हरिमोहन पोख्रेलको एकमात्र कथा सङ्कलन बगुल्लाको महासभा (2013) प्रकाशित छ। यस सङ्ग्रहमा 28वटा कथाहरू सङ्कलित छन्। धर्म प्रचारक, नया धामी, कर्मकाण्ड, हल्ला, मीडिया, रक्सी, दुष्टाहार, घुस, कुराकानी, टोल, प्रेरणा, मौन तपस्वी, बगुल्लाको महासभा, अधिकार, विदा, धर्म, नवरात्र, जाति, अङ्ग्रेजी टीचर आदि यसमा सङ्कलित कथाहरू हुन्। जम्मै कथाहरूले लेखक आफू स्वयंले देखे भोगेका सामाजिक तथ्यहरू बोकेका छन्। यसका पात्रहरू समाजमा देखा पर्ने दैनिक जीवन भोगिरहेका गाँउले मानिसहरू छन्। विभिन्न क्रियाकलापद्वारा सोझा जनताहरूलाई ठग्ने ठगीहरूको चरित्रको खुलासा यी कथाहरूमा भएको पाइन्छ। तथाकथित धर्मका ठेकेदार, समाजसेवीको मुखौटो लाएर हिँड़ने नेता, सोझा जनता ठग्ने ठालुहरूको चरित्रको खुलासा गर्न साथै सामाजिक कुरीतिमा प्रहार गर्नु यी कथाहरूको उद्देश्य हो।

सन् 2000 पछाड़िका वर्षहरूमा मणिपुरेली नेपाली साहित्यमा छोटा कथालेखनमा कालापहाड़ निवासी मुक्ति गौतम पत्र-पत्रिका मार्फत पहिलोपल्ट देखा पर्छन्। पिकनिक पार्टी, बीँड़ीको तलतल, सम्पर्कभाषा, समाधान, मन्तरेको मिनिङ, कालापहाड़ जानुछ आदि साना कथाहरू गोर्खा ज्योति, हाम्रोध्वनि र सपरिवार जस्ता स्तरीय पत्रिकाहरूमा प्रकाशित भए। एउटा राम्रा कथाकारका रूपमा देखा परेतापनि मुक्ति गौतमको कुनैपनि कथाकृति भने प्रकाशित भएको छैन। छोटाकथा लेखन परम्पराको जग उनले बसाले तापनि यस क्षेत्रमा काङ्ग्लातोंग्बी निवासी देवीथापा मामाले आफूलाई स्थापित गरेको देखिन्छ।

वर्तमानमा रोहित लाम्गादे र रोशन दियाली दुई युवा कथा क्षेत्रमा जाँगरिला कलमकारका रूपमा देखापरेका छन्। दुवैका प्रशस्त कथाहरू सामाजिक सञ्जाल र अनलाइन पोर्टलहरूमा प्रकाशित भएका देख्न पाइन्छ भने रोशन दियाली कथासङ्ग्रह प्रकाशित गर्ने जमर्कोमा छन्।

      पूर्वोत्तर भारतमा साहित्यको बिउ छर्ने भूमि मणिपुरको कथा साहित्य आफ्नै गतिमा हिँडिरहेको देखिन्छ। नेपाली भाषीहरूको थोरै सङ्ख्या, विभिन्न समस्याहरूको चपेटमा परेको जीवन, विभिन्न दवाबहरू, नेपाली साहित्यिक माहौलबाट टाढा हुनु, उचित मुद्रण र प्रकाशन व्यवस्थाको कमी जस्ता कारणहरूले गर्दा यस क्षेत्रमा नेपाली साहित्य भनेजस्तो गरि फस्टाएको देखिँदैन। तर थोरै मात्रामा भए पनि यस क्षेत्रबाट लेखिएका पुस्तकहरूले भारतीय नेपाली साहित्यको विकासमा ठुलो टेवा पुऱ्याएको कुरालाई नकार्न सकिँदैन।

             ......................................................................................

 

सन्दर्भ

1.        मणिपुरमा नेपाली साहित्यःएक अध्ययन - डा.गोमा दे. शर्मा (अधिकारी)-गोर्खाज्योति       प्रकाशन मणिपुर, 2016

2.       भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहास – डा. गोमा दे. शर्मा, गोर्खा ज्योति                   प्रकाशन, 2018

3,       असमेली नेपाली कथायात्रा - सम्पादक -डा.शान्ति थापा, ने. सा. प. असम, 2008

 

कोई टिप्पणी नहीं: